काठमाण्डौ – नयाँ दल दर्ताका लागि निवेदन दिएका दुई दल सनाखतका लागि आज निर्वाचन आयोग जाँदैछन् । आयोगले दल दर्ताका लागि निवेदन दिएका नेकपा एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टी नेपाललाई आज सनाखतका लागि बोलाएको छ ।

आयोगले दुवै दललाई सनाखतका लागि अढाई घण्टा समय निर्धारण गरेको छ । बिहान साढे ११ बजेदेखि दिउँसो दुई बजेसम्म नेताहरु आयोगमा पुगेर सनाखत गर्नुपर्नेछ । तोकेको समयभित्र सनाखत गर्नुपर्ने निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिनुभयो । नेता माधवकुमार नेपालको नेतृत्वमा नेकपा एकीकृत समाजवादी र महन्थ ठाकुरको नेतृत्वमा लोकतान्त्रिक समाजवादी पार्टी नेपालले नयाँ दल दर्ताका लागि आयोगमा निवेदन दिएका थिए ।

सरकारले दल विभाजनका लागि सहज हुनेगरी अध्यादेश ल्याएपछि दुवै दललाई नयाँ पार्टी गठनका लागि बाटो खुलेको हो । राजनीतिक दलसम्बन्धी व्यवस्थाअनुसार केन्द्रीय समिति र संसदीय दलमा ४० प्रतिशत प्रतिनिधित्व हुने गरी मात्रै दल विभाजन गर्न पाउने व्यवस्था रहेकोमा अध्यादेशमा केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत पुर्‍याएमा दल विभाजन गर्न सकिने व्यवस्था गरिएको छ ।

तपाईको प्रतिक्रिया