चितवन १६ वर्ष अघि नारायणगढको शहीदचोकमा प्रहरीको राईफलको कुन्दाले कुटिएर ढाडमा ट्यूमर पलाएपछि उपचारका लागि काठमाण्डौं पुग्नु भएका गोविन्द तिवारी चिकित्सकको ‘काउन्सिलिङ’ परामर्श बाट निकै प्रभावित हुनुभयो । त्यसो त आफ्नै घरमा चिकित्सक रहे पनि उहाँले यस किसिमको परामर्श जिल्लामा कहिल्यै पाउनु भएन ।

अधिकांश चिकित्सकको परामर्शमा कमजोर हुँदा अस्पतालहरुमा धेरै समस्या आउने गर्दछन् । उठि उठि बिरामी र उनका आफन्तलाई दुई चार शब्द भनेर औषधि लेखी पठाउँदा बिरामी अन्यौलमा पर्ने गर्दछन् । शल्यक्रिया पूर्व राम्रो परामर्श नदिंदा शल्यक्रियाका क्रममा कुनै दुर्घटना भएमा अस्पतालहरु तोडफोडका घटना समेत हुने गरेका छन् । राम्रोसँग परामर्श नपाउँदा औषधि बोकेर घर जानेहरु पूर्ण विश्वस्त भएर जान सकेका हुँदैनन् । एउटै चिकित्सकले एकै दिन एक सयभन्दा बढी बिरामी परीक्षण गर्दा कस्तो परामर्श हुन्छ रु भन्ने प्रश्न पनि उठ्ने गरेको छ ।

सरकारी अस्पतालहरुमा थोरै चिकित्सकले धेरै बिरामी परीक्षण गर्नुपर्दा परामर्श दिनै भ्याउँदैनन् । त्यसो त तिनै चिकित्सकले निजीमा पनि त्यस्तै व्यवहार गरेको गुनासो आउने गर्दछ । कतिपय चिकित्सक भने परामर्शलाई प्रमुख रुपमा लिने गर्दछन् ।

तिवारीले जनआन्दोलनमा राईफलको कुन्दाले हानेर ढाडमा पलाएको ट्यूमर शल्यक्रिया गर्न बरिष्ठ स्पाईनल सर्जन डा।विनोद बिजुक्छेकोमा पुग्नुभयो । उपचारपछि निको भएर चितवन फर्किनु भएका तिवारी बिजुक्छेको परामर्शको व्याख्या गरेर नसकिने बताउनुहुन्छ । उहाँले भन्नुभयो “चितवनमा त्यस्तो परामर्श कहाँ पाईन्छ र रु काठमाण्डौंमा अरुले के गर्छन् थाहा भएन, उहाँको परमर्श सबै चिकित्सकले सिक्नु पर्छ ।”

ग्राण्डी इन्टरनेशनल हस्पिटलका मेडिकल उपनिर्देशक समेत रहनु भएका डा। विजुक्छे अस्पतालमा वरिपरी चिकित्सकीय समूहसँगै बिरामी र उनका आफन्त राखेर शल्यक्रियापूर्व एक घण्टा हाराहारी परामर्श गर्ने गर्नुहुन्छ । उहाँले भन्नुभयो “हामी साना ठूला जस्तो सुकै शल्यक्रियापूर्व बिरामीको अवस्थाको बारेमा पूर्ण रुपमा परामर्श दिने गर्छौ ।” उपचारमा गएका बिरामीलाई सबै कुरा बुझाउने चिकित्सकको कर्तव्य भएको उहाँको भनाई छ । देशमा स्पाईनल सम्बन्धी ठूला शल्यक्रियाका लागि उहाँकहाँ बिरामी पुग्ने गर्दछन् ।

बरिष्ठ मनोरोग विशेषज्ञ प्रा।डा।सिपी सेढाई बिरामी र उनका आफन्तलाई राम्रोसँग परामर्श गर्न नसक्दा अस्पतालहरुमा दुर्घटना हुने गरेको बताउनुहुन्छ । धेरै चिकित्सकले बिरामी र आफन्तलाई रोगका बारेमा राम्रोसँग नबुझाउने गरेको स्वीकार्दै उहाँले भन्नुभयो “जस्तोसुकै रोगका बिरामी भए पनि हामीले राम्रोसँग बिरामी र आफन्तलाई बुझाउनै पर्छ ।”

बिरामीको अवस्था यो छ, उपचार पछि यो हुन्छ भनेर प्रष्ट पार्न नसक्दा बिरामी र आफन्तहरु असन्तुष्ट हुने गरेको उहाँको बुझाई छ । सेढाईले भन्नुभयो “बिरामीले बुझ्ने भाषामा चिकित्सकले परामर्श गर्नुपर्छ । जति गर्नु पर्ने हो हामीले गर्न सकेका छैनौं ।” उपचारका लागि लाग्ने खर्चदेखि हुन सक्ने जटिलताका बारेमा समेत बुझाउनु पर्ने उहाँको भनाई छ । चितवन मेडिकल कलेजमा कार्यरत डा। सेढाई सबै रोगमा परमर्शको जरुरी रहेकोमा जोड दिनुहुन्छ ।

भरतपुर अस्पतालका बरिष्ठ फिजिसियन डा।कालिदास अधिकारी चिकित्सकहरुले भ्याएर पुगेसम्म परामर्श दिने गरेको दावी गर्नुहुन्छ । सरकारी अस्पतालहरुमा धेरै बिरामी हेर्नुपर्दा पर्याप्त परामर्श दिन नसकिएको भने उहाँको स्वीकारोक्ती छ । परामर्श मात्रै होइन, धेरै कुराको अभाव सरकारी अस्पतालहरुमा हुने गरेको अधिकारी बताउनुहुन्छ ।

बुद्धिजीवि प्रेम रिमाल उपचार जीवन र मरणसँग सवाल भएकाले परामर्श राम्रो दिनुपर्ने बताउनुहुन्छ । युरोप, अमेरिका लगायतका देशले परामर्शलाई बढी जोड दिने गरेको भन्दै उहाँले भन्नुभयो “यहाँको परामर्श कमजोर छ, चिकित्सकले मैले भनेपछि के भन्नुप¥यो भनेर बिरामीसँग भन्ने गर्दछन् ।”

पुराना र गनिएका चिकित्सकको परामर्श कमजोर भएको भन्दै उहाँले नयाँ पुस्तामा परामर्शको विकास हुँदै गएको पनि बताउनुभयो । परामर्शलाई चिकित्सकले दायित्वको रुपमा लिनुपर्ने रिमाल बताउनुहुन्छ । रासस

तपाईको प्रतिक्रिया