काठमाडौं । सोल्टी होटल लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण मंगलवार सार्वजनिक गरेको छ ।उक्त वित्तीय विवरण अनुसार कम्पनी रू। १८ करोड ६० लाखभन्दा बढी खुद नोक्सानीमा रहेको छ । अघिल्लो वर्ष सोही अवधिसम्म रू। ११ करोड २० लाखभन्दा बढी खुद नाफा गरेको कम्पनीले गत वर्ष भने खुद नोक्सानीमा रहेको हो ।

गत वर्ष वैशाख जेठ तथा आसार तीन महीना कोरोनाका कारण बन्दाबन्दीको अवस्थामा होटलका व्यवसायिक गतिविधि तथा क्रियाकलाप हुन नसकेकाले सोको प्रत्यक्ष प्रभाव आम्दानीमा परेको होटलको भनाइ छ ।अघिल्लो वर्षभन्दा गत वर्ष होटलको आम्दानी ६५ दशमलव ८७ प्रतिशत कम भएको छ । अघिल्लो वर्ष रू। १ अर्ब २६ करोड ४० लाखभन्दा बढी आम्दानी गरेको होटलले गत वर्ष रू। ४३ करोड ११ लाखभन्दा बढी मात्र आम्दानी गरेको हो ।

हाल होटलको चुक्तापूँजी रू। ८४ करोड २५ लाख ७९ हजार रहेको छ भने जगेडा कोष रकम रू। ६२ करोड ११ लाखभन्दा बढी छ । अघिल्लो वर्ष यस अवधिसम्म होटलको जगेडा कोष रकम रू। ८१ करोड ४६ लाखभन्दा बढी थियो ।अघिल्लो वर्षभन्दा गत वर्ष होटलको जगेडा कोष रकम २३ दशमलव ७५ प्रतिशत कम भएको हो । होटलको चालू सम्पत्ति रू। २५ करोडभन्दा बढी र चालू दायित्व रू। ३७ करोड ८३ लाखभन्दा बढी रहेको छ । प्रतिशेयर आम्दानी रू। २ दशमलव २१ ऋणात्मक रहेको होटलको प्रतिशेयर नेटवर्थ रू। १७ दशमलव ३७ रहेको छ ।

तपाईको प्रतिक्रिया