नेपाली काँग्रेस केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दैछ । पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बिहीबारदेखि बैठक जारी छ । आज दिउँसो २ बजे बन्ने बैठकमा महाधिवेशन निर्वाचन निर्देशिका, क्रियाशील सदस्य केन्द्रीय छानविन समिति र समायोजन समितिको प्रतिवेदन पारित गर्ने केन्द्रीय सदस्य किरण गिरीले  बताए ।

गिरीका अनुसार आजको बैठकले १४ औं महाधिवेशनको नयाँ कार्यतालिका पारित गर्न सक्ने सम्भावना छ । यद्यपि बैठकमा कार्यतालिका पेस भएको छैन । भदौ १६–१९ का लागि निर्धारित १४ औं महाधिवेशन सार्ने सम्बन्धमा काँग्रेसभित्र मतभेद छ । विहीबार र शुक्रबारको बैठकमा बोल्ने केन्द्रीय सदस्यहरूमा दुई खाले मत विभाजन देखिएको छ ।

संस्थापन पक्षबाट आउँदो मंसिरभित्र महाधिवेशन गर्ने गरी धारणा आइरहेको छ भने संस्थापन इत्तर समूहले असोजमै महाधिवेशन गर्नुपर्नेमा जोड दिएको छ । संस्थापन पक्षका नेताहरूले भदौ २३ मा वडा अधिवेशन गरेर महाधिवेशन मंसिरसम्म सम्पन्न गर्ने नयाँ कार्यतालिका ल्याउनुपर्ने राय राखेका छन् । तर, इत्तर पक्षले भने भदौ २३ बाट महाधिवेशन प्रक्रिया आरम्भ गरी दसैँअघि नै सम्पन्न गर्नेगरी नयाँ कार्यतालिका ल्याउन भनेको छ ।

तपाईको प्रतिक्रिया