काठमाण्डौ – माध्यामिक शिक्षा परीक्षा एसईईको नतिजा सार्वजनिक भएको छ ।राष्ट्रिय परीक्षा बोर्डको बोर्ड बैठकले एसईईको नतिजा प्रकाशन गरेको हो । कक्षा १२ को परीक्षाको विषयमा निर्णय गर्न बसेको बोर्डको बैठकले एसईईको नतिजा पनि सार्वजनिक गरेको हो । गत वर्षको जस्तै यस वर्ष पनि आन्तरिक मूल्यांकनकै आधारमा एसईईको नतिजा सार्वजनिक भएको छ । ५ लाख १७ हजार विद्यार्थी एसईईमा सहभागी भएका थिए ।

यसैविच कक्षा १२ को परीक्षा स्थगित भएको छ । राष्ट्रिय परीक्षा बोर्डको बोर्ड बैठकले कोरोना महामारीको कारण परीक्षा सञ्चालन गर्न सम्भव नभएको भन्दै स्थगित गर्ने निर्णय गरेको हो ।बोर्डले साउन ३१ गतेदेखि होम सेन्टरमै परीक्षाको तयारी गरे पनि स्वास्थ्य मन्त्रालयले कोभिड १९ संकट व्यवस्थापन केन्द्रसमक्ष परीक्षा रोक्न सिफारिस गरेको थियो । महामारीको बढ्दो रुप र माथिल्ला निकायको निर्देशन अनुसार परीक्षा स्थगित गरिएको बोर्डले जनाएको छ ।

अब कोरोना महामारीको अवस्था हेरेर सीसीएमसी र स्वास्थ्य मन्त्रालयको सुझाव र निर्देशन अनुसार अर्को मितिमा परीक्षा हुने शिक्षा मन्त्रालयका सचिव रामप्रसाद थपलियाले उज्यालोलाई जानकारी दिनुभयो । परीक्षा हुनुभन्दा कम्तिमा १५ दिनअघि सूचना निकालिने सचिव थपलियाले बताउनुभयो । परीक्षा स्थगित हुने र नहुने हल्लाका कारण विद्यार्थी अन्योलमा रहेकोमा अब विद्यार्थीको अन्योल हटेको छ ।

तपाईको प्रतिक्रिया