काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले अध्यक्ष केपी शर्मा ओलीले अहिलेसम्म गरेका गल्ती स्वीकारेर आत्मआलोचना गरे पार्टी एकता हुने बताएका छन्।बिहीबार राजधानीमा बसेको आफू पक्षीय केन्द्रीय कमिटी सदस्यहरूको बैठकमा बोल्दै नेता नेपालले ओली सच्चिन तयार नभए पार्टी एकता नहुने बताए।‘हामी धेरै अघि बढिसकेका छौं। ओलीले गल्ती सच्याएर आउँछन् भने एकता हुन्छ नत्र हुन्न,’ केन्द्रीय कमिटी बैठकमा नेपालले बोलेको कुरा उद्धृत गर्दै केन्द्रीय सदस्य मेटमणि चौधरीले भने।

उनले आफूहरू एकता चाहेको र त्यसका लागि प्रयास पनि भइरहेको बताएका थिए।दुई अध्यक्षमा सहमति गर्ने प्रस्ताव ओलीले नै पहिला राखेको र पछि हुँदैन भनेको पनि नेपालको भनाइ थियो।नेपाल पक्षको केन्द्रीय कमिटी बैठक बस्नुअघि स्थायी कमिटी बैठक बसेको थियो। उक्त बैठकमा पनि पार्टी एकताका विषयमा छलफल भएको स्थायी कमिटी सदस्य रघुजी पन्तले जानकारी दिए।नेपाल पक्षको केन्द्रीय कमिटी बैठक भोलि बिहान साढे ११ बजे फेरि बस्नेछ।

तपाईको प्रतिक्रिया