काठमाडौं । नेपाली कांग्रेसका सांसद अमरेश कुमार सिंहले पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई सांसद पदबाट राजीनामा दिएको पत्र बुझाएका छन् ।
क्रियाशील सदस्यता विवादलाई लिएर नेता सिंहले बुधबार प्रधानमन्त्री देउवालाई भेटेर राजीनामा पत्र बुझाएका हुन् ।क्रियाशील सदस्यता विवादलाई लिएर कांग्रेस पार्टी कार्यालयमा सर्लाहीका नेता तथा कार्यकर्ता धर्नामा छन् । उनीहरुले पार्टी विधानविपरीत क्रियाशील सदस्यता दिएको भन्दै त्यसलाई रोक्नुपर्ने माग गरेका छन् । धर्नामा बसेकाहरुको मागमा ऐक्यवद्धता जनाउँदै सांसद सिंहले राजीनामा बुझाएका हुन् ।
समायोजनका नाममा क्रियाशील सदस्यातामा धाँधली भएको भन्दै राजीनामा बुझाएको सांसद सिंहले बताए । प्रधानमन्त्री राजीनामा पत्र बुझाउनुअघि वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्रीद्वय शशांक कोइराला र पूर्णबहादुर खड्काका साथै नेता शेखर कोइरालासँग कुराकानी भएको उनले बताए । उनले भने, ‘कांग्रेसका लागि रातदिन काम गरेका कार्यकर्तालाई पाखा लगाइएको छ । ठेकदार, ब्यापारीलाई क्रियाशील सदस्यता दिइएको छ ।’