नवलपुर। नेपालका पहिलो जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको ३९ औं स्मृति दिवस आज मनाईदैछ । विपी स्मृति दिवसका अवसरमा नेपाली कांग्रेस र उसका भातृ संगठनले आज देशभर विभिन्न कार्यक्रम आयोजना गर्दैछन् ।
नेपाली कांग्रेसका संस्थापक कोइराला २०१५ सालको आमचुनावमा कांग्रेसले दुई तिहाइ बहुमत ल्याएपछि पहिलो जननिर्वाचित प्रधानमन्त्री बन्नुभएको थियो ।उहाँले नेपालमा राष्ट्रियता, प्रजातन्त्र र समाजवाद स्थापनाका लागि राजनीतिक नेतृत्व दिनुभएको थियो ।
पछि उहाँ विदेशमा बसेर देशका लागि लड्नुभन्दा देशभित्रकै सबै शक्तिबीचको एकता महत्वपूर्ण हुने भन्दै राष्ट्रिय मेलमिलापको नीति लिएर स्वदेश फर्किनुभएको थियो ।उहाँले प्रवद्र्धन गरेको प्रजातान्त्रिक समाजवाद र मेलमिलापको नीति अहिले पनि सान्दर्भिक मानिन्छ । कोइरालाको २०३९ साउन ६ गते निधन भएको थियो ।
विपी स्मृति दिवसका अवसरमा नेपाली कांग्रेस नवलपुरले जिल्लाका सबै पालिकाहरुमा कार्यक्रमको आयोजना गरेको छ । सवै पालिकाहरुलाई आ आफै कार्यक्रमको आयोजना गर्न जिल्लाले निर्देशन दिएको कांग्रेस नवलपुरका अध्यक्ष विष्णु लामिछानेले बताउनु भयो ।
जिल्ला कार्य समितिले दिउसो ३ वजे मध्यविन्दु जिल्ला अस्पतालमा विरामीहरुलाई फलफुल वितरण गर्ने कार्यक्रम तय गरेको छ भने साँझ कावासोतीको विपी चोकमा दीपावली गर्ने नवलपुर काग्रेसले जनाएको छ ।