गोविन्द घिमिरे
नवलपुर । अमेरिकाले सहयोग स्वरुप उपलव्ध गराएको १५ हजार डोज जोन्सन एण्ड जोन्सन खोप नवलपुर आएको छ । एक डोज मात्रै लगाएपुग्ने सो खोप हिजो मात्रै नवलपुर आएको स्वास्थ्य कार्यालय नवलपरासी(पूर्व)ले जनाएको छ ।५० देखि ५४ वर्ष उमेर समूह र अपांगताको क र ख वर्गको परिचयपत्र पाएका व्यक्ति तथा लक्षीत वर्गका लागि दिईने सो खोप जिल्लाका स्थानीय तहहरुमा जनसंख्याको आधारमा वितरण गरिने स्वास्थ्य कार्यालयका प्रमुख केशव प्रसाद चापागाईले उज्यालो खबरलाई जानकारी दिनुभयो ।

जिल्लामा २० हजारको हाराहारीमा ५० देखि ५४ वर्ष उमेर समूूहका मानिसहरु भएको अनुमान गरिएको भएपनि यसअघिका खोप अभियानमा समेत मानिसहरु समेटिएकोले १५ हजार डोज खोपले लक्षीत समूहलाई समेट्न सकिने उहाँले बताउनुभयो ।प्रमुुख जिल्ला अधिकारीको संयोजकत्मा रहेको जिल्ला स्तरीय खोप समन्वय समितिको बैठक बसेर खोप कार्यक्रम सार्वजनिक गर्ने स्वास्थ्य कार्यालयको तयारी छ ।

अमेरिकाले जोन्सन एण्ड जोन्सन कम्पनीको १५ लाख ३४ हजार ८५० डोज खोप नेपाललाई उपहार स्वरुप दिएको थियो । यो खोप एक डोजमात्र लगाए पुग्छ ।

तपाईको प्रतिक्रिया