×

काठमाडौँ । नेकपा एमालेले प्रतिनिधिसभा विघटनलाई बदर गर्ने सर्वोच्च अदालतको फैसलालाई भण्डाफोर गर्ने भएको छ। शुक्रबार संसद् भवन नयाँ बानेश्वरमा बसेको एमाले संसदीय दलको बैठकपछि बोल्दै सचेतक विशाल भट्टराईले उक्त फैसलाप्रति आपत्ति व्यक्त गरिएको बताए।

उनले भने, ‘अहिले सम्मानित सर्वोच्च अदातलको तर्फबाट संविधानको धारा उपधाराहरुको अपव्याख्या गरेर जसरी जनादेशलाई पूर्णरुपमा इन्कार गरेर, लोकतन्त्रलाई उपहास गरेर, दलीय व्यवस्थाको उपहास गरेर जसरी एउटा फैसला गरियो। निर्दलीय व्यवस्थातर्फ मुलुकलाई अग्रसर गराउने गरी जुन फैसला गरियो, त्यसप्रति हाम्रो बैठकले आपत्ति व्यक्त गरेको छ,’ भट्टराईले भने, ‘यसलाई व्यापकरुपमा जनताका बीचमा भण्डाफोर गर्ने निष्कर्ष पनि निकालेका छौं। यसलाई हामी व्यापक जनताका बीचमा पुर्‍याउनेछौं।’

भट्टराईले प्रत्येक संसद्को पूर्वसन्ध्यामा संसदीय दलको बैठक बस्ने प्रचलनअनुसार बैठक बसेको बताए। बैठकमा समसामयिक राजनीतिक परिस्थिति, आगामी संसद् बैठकमा नेकपा एमालेको तर्फबाट व्यक्त गर्नुपर्ने धारणाका विषयमा अध्यक्ष केपी शर्मा ओलीले बोलेको उनले बताए।

तपाईको प्रतिक्रिया