काठमाडौं । सर्वोच्च अदालतले विप्लव समूहका हेमन्तप्रकाश वलीलाई थुनामुक्त गर्न आदेश दिएको छ ।बिहीबार न्यायाधीश प्रकाशकुमार ढुंगाना र मनोजकुमार शर्माको इजलासले वलीलाई साधारण तारेखमा छाड्न आदेश दिएको हो ।
नख्खुस्थित एनसेल मुख्यालयमा बम विस्फोट गराएको आरोपमा हातहतियार तथा खरखजाना, विस्फोटक पदार्थ, राजद्रोह र संगठित अपराधसम्बन्धी कसुरमा जिल्ला अदालत ललितपुरले उनलाई २०७६ जेठ १० गते पुर्पक्षका लागि थुनामा पठाएको थियो ।विप्वल समूहले एनसेल मुख्यालयमा बम विस्फोट गराएको घटनाको वलीले बीबीसी नेपाली सेनामा अन्तर्वार्ता दिँदै आफूहरुले गराएको भनी जिम्मा लिएका थिए ।
जिल्ला अदालतको उक्त आदेश वेरीतको रहेको भनी वलीले २०७६ जेठ १६ गते नै उच्च अदालत पाटनमा निवेदन दिएका थिए । उच्च अदालतले वलीलाई पुर्पक्षका लागि थुनामा राख्ने जिल्ला अदालतको आदेश मिलेकै देखिएको भनी सदर गरेको थियो ।त्यसविरुद्ध वलीले सर्वोच्च अदालतमा निवेदन दिएका थिए । वली हाल मुटुको उपचारका लागि शहीद गंगालाल राष्ट्रिय मुटुरोग केन्द्रम उपचाररत छन् ।