चितवन  – गएराति देखि परेको अबिरल बर्षाका कारण माडीका विभिन्न स्थान डुबानमा परेका छ्न भने बिजुलीको पोल ढल्दा विद्युत अबरुद्ध भएको छ । माडीका सबै खोलाहरुमा बाढी आएको र सडक समेत अबरुद्ध भएको तथा विभिन्न स्थानमा कटानका कारण क्षती समेत भएको छ । मगुइ खोलामा आएको बाढीले बिजुलीको पोल ढालेपछी आज बिहानै बाट माडी क्षेत्र विद्युत बिहिन हुन पुगेको छ ।

बाढीकै कारण सोही खोलाको निर्माणाधीन पुल र आसपासको क्षेत्रमा समेत क्षति गरेको छ ।माडीका चितही , मुगही , बादरमुडे , पतेरे ,परुइ , टुनामुना , घागर लगायतका खोलामा आएको बाढीका कारण सडक सन्जालको सम्पर्क समेत टुटेको सहकर्मी श्रीप्रसाद दवाडीले बताउनु भएको छ । परुइ खोलाको बाढी चेपाङ बस्तीमा पसेपछी धनमालको नष्ट भएको जनाइएको छ ।

बघौडा लगायतका स्थानमा पनि बाढी पसेको जनाइएको छ । यता बाढीको कारण रौतने खोला छेउको ड्याम कटान गरी माडी ३ को मलाहीटोलको डुबानमा परेको छ । त्यस्तै डांग्रेखोलामा आएको बाढीका कारण माडी १ बरुवा बजारस्थित सुकुम्बासी बस्ती डुबानमा परेको स्थानियहरुले बताएका छन । रीउ नदीमा पानीको सतह बढ्दै जाँदा माडी १ गर्दी र सेरुवा गाउँ समेत उच्च जोखिममा परेको छ ।

त्यस्तै बनकट्टा र पाँचपाण्डव गाउँमा कटान र डुबानमा परेको छ । माडी ३ बसन्तपुरस्थित पेट्रोल पम्प, ईलाका प्रशासन र प्रहरी कार्यालय अगाडी कटान भएको नेपाल रेडक्रस सोसाइटी उपशाखा माडीका अध्यक्ष भागिरथ बस्यालले बताउनु भयो । बसन्तपुर बजार लगायतका क्षेत्रमा समेत पानी पसेको छ ।

तस्विरहरु :सराेज खनाल र श्री दवाडी 

तपाईको प्रतिक्रिया