भरतपुर महानगरपालिका वडा नं. १ आँपटारीस्थित पानीटंकी ओरालोमा ट्रकले दुई वटा स्कुटरलाई ठक्कर दिंदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाईते भएका छन् । नारायणगढबाट लम्जुङतर्फ जाँदै गरेको न १ ख ९७५६ नम्बरको ट्रकले विपरित दिसशाबाट आईरहेका प्रदेश ३–००३ प ३५४३ र प्रदेश २–०३–००७ प ७१९६ नम्बरका स्कुटरलाई आज दिउँसो २ः५५ बजेको समयमा ठक्कर दिंदा दुर्घटना भएको हो ।

मृत्यु हुनेमा ३५४३ नम्बरको स्कुटर पछाडि सवार देवघाट गाउँपालिका वडा नं. १ तनहुँ बस्ने अन्दाजी ४० वर्षिया चिनिमाया पौडेल रहेकी जिल्ला प्रहरी कार्यालय चितवनले  जनाएको छ । घाईतेहरुमध्ये ३५४३ नम्बरको स्कुटर चालक भरतपुर महानगरपालिका वडा नं. ११ निवासी ३५ वर्षिय पुष्पराज बाँस्तोलाको कलेज अफ मेडिकल साईन्सेस (पुरानो मेडिकल कलेज) मा उपचार भईरहेको छ । उहाँको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

यसैगरी ७१९६ नम्बरको स्कुटर चालक देवघाटकै ३० वर्षिय तिलबहादुर गुरुङ र सोही स्कुटरको पछाडि सवार देवघाटकै ३५ वर्षिय सिरु गुरुङको चितवन मेडिकल कलेजमा उपचार भईरहेको छ । उहाँहरुको अवस्था सामान्य रहेको छ । मृतक पौडेलको शव भरतपुर अस्पतालको शवगृहमा राखिएको छ भने ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

तपाईको प्रतिक्रिया