
काठमाडौं । नेपाली कांग्रेसको क्रियाशील सदस्यता छानबिन समितिले सदस्यता विवाद सुल्झाउनका लागि सहजीकरण गरिदिन नेतृत्वलाई आग्रह गरेको छ ।
२० असारभित्र क्रियाशील सदस्यता विवाद टुंग्याइसक्नुपर्ने दबाबमा रहेको समितिले सदस्यता छानबिनबारे मापदण्ड निर्धारणमा सहयोग गर्न पार्टी पदाधिकारीलाई आग्रह गरेको हो । समितिले मापदण्ड बनाउन नसक्दा क्रियाशील सदस्यतालाई लिएर परेका उजुरीहरुबारे निर्णय गर्न सकेको छैन । आइतबार पार्टी कार्यालय सानेपामा शीर्ष नेताहरुसहित पदाधिकारी बैठकमा छानबिन समितिले सदस्यता विवाद चाँडो सुल्झाउन सहजीकरण गरिदिन आग्रह गरेको हो ।
समिति संयोजक रमेश लेखकले क्रियाशील सदस्यता विवाद टुंग्याउनेबारे पदाधिकारी बैठकले समान धारणा बनाउनुपर्नेमा जोड दिए । ‘हामीसँग समय थोरै छ, तर उजुरीको चाङ ठूलो छ,’ बैठकमा संयोजक लेखकले भने, ‘पार्टीले नै सदस्यताबारे एउटा प्रष्ट धारणा बनाए हामीलाई काम गर्न सजिलो हुन्छ ।’
कांग्रेसले भदौ १६ देखि १९ गतेसम्म पार्टीको १४ औं महाधिवेशन सम्पन्न गर्ने गरी कार्यतालिका अनुमोदन गरिसकेको छ । महाधिवेशन आउन दुई महिना बाँकी रहेका बेला कांग्रेसभित्र प्रारम्भिक मतदाता मानिने क्रियाशील सदस्यताको टुंगो लागिसकेको छैन । पुराना क्रियाशील सदस्यमा धेरै विवाद नरहे पनि समितिले अन्य पार्टीबाट आएका र नयाँको हकमा विवाद देखिएको छ ।