गैँडाकोट । नेपाली कांग्रेसको चौधौं महाधिवेशनका लागि वडा तहबाट शुरु हुने अधिवेशनको चहलपहल शुरु भएको छ । गैँडाकोट नगरका विभिन्न नेताहरुले सभापति पदमा आफ्नो उम्मेदवारी दावी गर्न शुरु गरेका छन् ।नगर सभापतिमा हालसम्म चार जनाले उम्मेदवार हुने जनाएका छन् । अन्तिम समयसम्म यो संख्या घटबढ हुनसक्ने बताइएको छ ।

नेपाली कांग्रेस गैँडाकोटको सभापतिका लागि हालसम्म पार्टिका क्षेत्रीय प्रतिनिधि बद्री सापकोटा, खेमराज सापकोटा, खगराज सापकोटा र युवा नेता दाताराम घिमिरेले  उमेदवारी रहने बताएका छन् । सार्वजनिक फोरममै नेताहरुले आफुनै सभापतिको उमेदवार भनेर नबताएपनि आन्तरिक तयारी तिव्र पारेको काग्रेसजनहरु बताउछन् ।

उज्यालो खबरसँग कुरा गर्दै नेपाली काग्रेसका क्षेत्रीय प्रतिनिधि तथा प्रशिक्षण विभाग सदस्य बद्री सापकोटाले पार्टि संगठनलाई बलियो बनाउन आफुले उमेदवारी दिने बताए । गैँडाकोटमा पार्टिलाई बलियो बनाउन मेरो शतप्रतिशत  उमेदवारी रहन्छ उनले भने: कांग्रेस माथि भैरहेको प्रहारलाई रोक्नको लागि मेरो  उमेदवारी हुनेछ । विस. २०५० सालदेखि पार्टिका विभिन्न जिम्मेबारीमा रहेर काम गरेका सापकोटा नेविसंघको राजनीतिमा बढी सकृय थिए । काग्रेस भित्र अध्ययनशील मानिने उनि युवाहरुमाझ लोकप्रीय नेताको रुपमा चिनिन्छन् ।

नगर सभापतिको पदका लागि खेमराज सापकोटाले पनि आन्तरिक तयारी थालेका छन् । जिपी कोईराला फाउण्डेसनको जिल्ला सदस्य तथा पार्टिको प्रशिक्षण विभागका सदस्य रहेका सापकोटाले अग्रजहरुलाई सम्मान गर्दै पार्टिको धरातललाई बलियो बनाउन आफुले सभापति पदमा  उमेदवारी दिने बताए । उनले पनि लामो समय नेविसंघको राजनीति गरेका थिए ।

अर्का नेता खगराज सापकोटा पनि नगरको सभापति पदका लागि कुरेर बसेका छन् । महाधिवेशन नजिकिदै गर्दा उनले आन्तरिक छलफललाई तिव्र बनाएको बताए । वि.स २०४६ सालदेखि नै राजनितिमा सकृय भै लागेको भन्दै उनले नगरका कांग्रेसजनहरुले आफुलाई नै रोजेको उज्यालो खबरलाई बताए । राजनिति देश सञ्चालन गर्ने माध्यम भएको भन्दै सापकोटाले युवाहरुको काधमा अवको जिम्मेवारी आएको बताए ।

यता युवानेताका रुपमा परिचय बनाएका दाताराम घिमिरेले समेत नगर सभापतिको लागि आफुले उमेद्वारी दिने बताएका छन् । जरा बलियो नभएसम्म रुख बलियो नहुने भन्दै घिमिरेले गैँडाकोटको कांग्रेसलाई बलियो बनाउन आफ्नो उमेदवारी रहने बताए । तत्कालिन गैँडाकोट गाविसको पार्टिको सचिव भएका घिमिरेले राजनितिलाई उत्पादन सँग जोड्नुपर्ने धारणा राखे । बालकुमारी कलेजमा नेविसंघको राजनीति गरेका दातारामले कुनैबेलामा चर्चित विद्यार्थी नेताको रुपमा परिचय बनाएका थिए ।

वडादेखि केन्द्रसम्म उम्मेदवार हुनेहरुले आन्तरिक रुपमा चुनावी प्रचार थालिसकेका छन् । चुनाव हुन्छ या हुँदैन भन्ने दोधारका बीच मिति तय भएपछि कोभिडको अवस्थामा पनि उम्मेदवारहरु आफ्नो पक्षमा मत तान्न लागिपरेका छन् ।नवलपुर जिल्लामा रहेका १६ हजार ७९९ क्रियाशिल सदस्य मध्ये सवैभन्दा बढि गैँडाकोट नगरपालिकामा ४ हजार ८०५ जना रहेका छन् ।

नेपाली कांग्रेसको आगामी साउन १२ गते वडा तहमा अधिवेशन हुँदैछ । वडा समिति र क्षेत्रीय प्रतिनिधि वडाबाट चयन हुनेछन् । साउन १६ गते हुने पालिका अधिवेशनबाट पालिका कार्यसमिति र अपाङ्गहरुको क्षेत्रीय प्रतिनिधि चयन हुनेछन् । साउन २० गते क्षेत्रको प्रदेश समितिको अधिवेशनले प्रदेश कार्यसमिति, प्रदेश महाधिवेशन प्रतिनिधि चयन गर्नेछ । साउन २३ गते हुने क्षेत्रको अधिवेशनले क्षेत्रीय कार्यसमिति, महाधिवेशन प्रतिनिधि र महासमिति सदस्य चयन गर्दैछ । साउन २६ गते हुने जिल्ला अधिवेशनले जिल्ला कार्यसमिति चयन गर्नेछ ।

 

तपाईको प्रतिक्रिया