नवलपुर । तनहुँको ऋषिङ गाउँपालिकाले गाउँ फर्कन चाहनेका लागि जग्गा उपलब्ध गराउने भएको छ। यसका अलावा गाउँपालिकाले उनीहरूलाई घर बनाउन एक लाख रुपैयाँसमेत अनुदान दिने घोषणा गरेको छ।
गाउँपालिकाको १०औं गाउँसभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उपाध्यक्ष गिनुमाया थापाले यस्तो कार्यक्रम घोषणा गरेकी हुन्। गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले सुरुआतदेखि नै गाउँमा फर्कौं–फर्कौं लाग्ने बनाउने घोषणा गरेका थिए। ‘हाम्रो उद्देश्य गाउँ फर्कौं फर्कौं बनाउँ भन्ने थियो,’ उनले भने, ‘धेरै काम भइसकेका छन्। अब साँच्चिकै गाउँ आउन चाहनेका लागि प्रोत्साहनस्वरूप यस्तो व्यवस्था बजेटमार्फत नै गर्न लागेका हौं।’
गाउँपालिकाले यसका लागि ऋषिङ थातथलो भएको प्रमाण भए पुग्ने बताएको छ। पर्याप्त पूर्वाधार अभावमा जिल्लाकै कछार क्षेत्र मानिने हालको ऋषिङ गाउँपालिका क्षेत्रबाट बसाइँ सरेर जानेको संख्या धेरै थियो। तर, साबिक काहुँ शिवपुर, राम्जाकोट, रिसिङ रानीपोखरी तथा भीरकोट गाविस मिलेर बनेको गाउँपालिका स्थानीय सरकारका रूपमा आएपछि भौतिक पूर्वाधार विकास र सडक कालोपत्रे आदिमा जोड दिइएको छ। ‘चार वर्षको अवधिमा गाउँलाई बस्न योग्य बनाएका छौं,’ अध्यक्ष श्रेष्ठले भने, ‘अब गाउँ छाडेकालाई फर्काउने बेला भएको छ।’