काठमाडौं । आसन्न १४औं महाधिवेशनमा पनि सभापति उठ्ने तयारी थालेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई विमलेन्द्र निधिले चुनौती दिएका छन् ।
आफ्नो समूहका नेताहरुसँग छलफल थालेका देउवाले शनिबार दिउँसो प्रदेश २ का नेताहरुलाई भेटेका थिए । देउवा निवास बुढानीलकण्ठमा भएको भेटमा उपसभापति निधि, आनन्द ढुंगाना, जंगीलाल रायलगायतका नेताहरु सहभागी थिए ।
देउवाले आफू सभापति उठ्ने भन्दै धेरैभन्दा धेरै महाधिवेशन प्रतिनिधि जुटाउन आग्रह गरे ।उपसभापति निधिले भने आफू पनि सभापतिमा उम्मेदवारी दिने चाहना राखेको बताए । आफूले यसअघि पनि भनेको स्मरण गराउँदै उनले भने, ‘तपाई प्रधानमन्त्री बन्नुस्, म आफूले सहयोग गर्छु । सभापतिमा तपाईंको समर्थनमा म लड्छु ।’
लामो समयदेखि आफ्नो समूहमा रहेका निधिको प्रस्तावलाई सभापति देउवाले सहज रुपमा नलिएको एक नेताले बताए । उनका अनुसार देउवाले ‘लड्ने भए लड्नुस्, त्यो तपाईंको अधिकार हो’ भन्ने प्रतिक्रिया दिएका थिए ।