
नवलपुर । कोभिड १९ संक्रमण रोकथामका लागी जारी निषेधाज्ञा उल्लंघन गरी पसल खोलेको भन्दै नवलपुरमा २ जना व्यवसायीलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका अनुसार सम्झाई बुझाई गर्दा समेत अटेर गरेर पसल सञ्चालन गरेपछि उनिहरुलाई पक्राउ गरिएको हो ।
पक्राउ पर्नेमा चितवन राप्ती न.पा. वडा नं. १ घर भई हाल कावासोती ३ बस्दै आएका ३३ बर्षका पुर्ण बहादुर श्रेष्ठ र पर्वत देउपुर गा.पा. वडा नं. २ घर भई हाल कावासोती ३ बस्दै आएका २० वर्षका बिनोद क्षेत्री रहेका छन् ।उनीहरुलाई कोभिड १९ संकट व्यवस्थापन अध्यादेश २०७८ बमोजिम कारबाही गरिने र थप अनुसन्धानको काम अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी प्रहरी नायव उपरिक्षक दिलीप कुमार गिरीले जानकारी दिनुभयो ।
कोभिड १९ संकट व्यवस्थापन अध्यादेश २०७८ को कसुर वा सजायमा कुनै व्यक्तिले नियम उल्लंघन गरी बाधा अवरोध सिर्जना गरेमा १ वर्षसम्मको कैद वा ५ लाख रुपैया जरिवाना हुन सक्छ । यस्तै अध्यादेश बमोजिम जारी भएको मापदण्डको पालना नगरेमा ६ महिना कैद वा ३ लाख रुपैया सम्म जरिवाना वा दुवै सजाय हुनसक्छ ।