×

चितवन ।  भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा पनि कोभिडका बिरामीको उपचार हुने भएको छ । कोभिड बिरामीको उपचारका लागि क्यान्सर अस्पतालले १४० बेड क्षमताको आइसोलेसन सञ्चालन गर्दै छ ।

आइतबारबाट कोरोना संक्रमित बिरामीको भर्ना लिन सुरु गर्ने बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा। देजकुमार गौतमले जानकारी दिए ।

हाल चितवनका भरतपुर अस्पताल, चितवन मेडिकल कलेज र कलेज अफ मेडिकल साइन्सेस् भरतपुरमा मात्रै कोरोना संक्रमित बिरामीको उपचार हुँदै आएको छ । ती अस्पतालमा कोरोना संक्रमित बिरामीहरु भरिन थालेको र थप संक्रमितले उपचार नपाउने अवस्था आएपछि क्यान्सर रोगको उपचार हुँदै आएको अस्पतालमा पनि कोरोना संक्रमितको उपचारका लागि १४० बेड छुट्टाइएको हो ।

बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा ४५० बेड छ । पहिले अस्पतालले क्यान्सरको उपचार गराइरहेका तर कोभिड भएका बिरामीको उपचारका लागि २० बेडको आइसोलेसन सेन्टर स्थापना गरेको थियो । ‘अब यसलाई बढाएर हामीले १४० बेड बनाउने भयौं, कोरोना संक्रमितहरुको जीवन जोगाउनु पहिलो प्राथमिकता देखियो,’ अस्पतालका कार्यकारी निर्देशक डा। गौतमले भने, ‘आइतबारबाट हामीले कोरोना संक्रमितहरुको भर्ना लिन थाल्छौं ।’

डा। गौतमकाअनुसार अस्पतालका चारवटा विभागमा रहेका बिरामीलाई अन्यत्र व्यवस्थापन गरेर आइतवारबाट कोभिड वार्ड सञ्चालन गर्ने तयारी गरिएको हो । अस्पतालको रेडियशन, बच्चा, नाक, कान, घाँटी र मूत्रथैली विभागका बिरामीलाई अन्यत्र सारिएको छ ।

विभागहरूमा पार्टेसन गरेर मनिटरलगायतका सामान जडान गरिएको छ । ती वार्ड नजिक अक्सिजनको सेन्टर सप्लाइसमेत छ । यहाँ ६ वटा भेन्टिलेटर जडान गरिंदैछ ।

अस्पतालको आफ्नै अक्सिजन प्लान्टसमेत भएकाले संक्रमित बिरामीको उपचारमा सहज हुने र अक्सिजनको अभावमा कोही पनि बिरामीले मर्न पर्ने अवस्था नआउने उनले विश्वास व्यक्त गरे ।

 

तपाईको प्रतिक्रिया