कुलप्रसाद काफ्ले
चितवन ।भरतपुर । कोरोना संक्रमितलाई एम्बुलेन्समा निःशुल्क अस्पतालसम्म पु¥याउने अभियान थालेको भन्दै भरतपुर महानगरपालिकाको मेलबाट बुधबार विभिन्न सञ्चारमाध्यममा समाचार गयो । संक्रमितलाई बोक्न दुई वटा एम्बुलेन्स स्टयण्डबाई राखिएको समाचारमा दाबी गरिएको थियो ।संक्रमितलाई ‘घरबाटै अस्पतालसम्म लैजाने व्यवस्था’ भन्ने समाचार केहि मिडियामा आएपछि महानगर प्रमुख रेनु दाहाललाई धेरैले धन्यवाद दिए । कोभिड–१९ रोकथाममा महानगरको लोकप्रिय कदम भन्दै गरेको प्रचार गलत भएको कुरा बिहिबार पुष्टि भएको छ ।
संक्रमितलाई एम्बुलेन्समा निःशुल्क अस्पतालसम्म लैजाने विषयमा कुनै निर्णय नै नभएको भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत भोजराज खतिवडाले बताए । ‘अस्पताल लैजाने व्यवस्था भएको छैन अहिले । आज बल्ल बैठक बस्दै छ’, उनले भने, ‘एम्बुलेन्स राख्ने भन्ने कुरा त भएको हो तर कहाँ–कहाँ राख्ने निर्णय भएको छैन ।’
यस विषयमा थप बुझ्न खोज्दा महानगर प्रमुख रेनु दाहालको मोबाइल उठेन । महानगरको स्वास्थ्य शाखा प्रमुख दिपक सुवेदी र उप–प्रमुख सूर्य तिवारीले पनि यस विषयमा कुनै निर्णय नभएको बताए । सुवेदी विरामी भएर दुई दिनदेखि घरमै आराम गरिरहेका छन् ।
स्वास्थ्य शाखा उप–प्रमुख सूर्य तिवारीले पनि संक्रमितलाई अस्पतालसम्म लैजाने व्यवस्था भनेर आएको समाचार हल्ला मात्रै भएको बताए । ‘त्यो केहि पनि होइन, हल्ला मात्रै हो’, उनले भने, ‘त्यो बारेमा तयारी बैठक भएको छ । तयारी गर्दै छौँ ।’ एम्बुलेन्स चालकको खान बस्नको सुविधा लगायतका विषयमा निर्णय नै भइनसकेको उनले बताए ।
‘जसले पैसा तिर्न सक्दैन र समस्या परेको छ । त्यस्तो विरामीको लागि महानगरले एक÷दुई वटा एम्बुलेन्स राखेर अलिकति सहजिकरण गरिदिने कि भन्ने कुरा चाहि भएको छ । टुंगिसकेको छैन’, उनले भने ।महानगरको कोभिड फोकल पर्सन केशव भट्टले भरतपुर–२३ स्थित स्वास्थ्य चौकी जगतपुरको एउटा एम्बुलेन्सले संक्रमित बोक्ने भनेर निर्णय भइसकेको दाबी गरे । ‘पोहोर पनि त्यहि प्रयोग गरेको हो । अहिले पनि प्रयोग गर्ने निर्णय भएको छ’, उनले भने, ‘गितानगर र गौरीगञ्जमध्ये कुनै एउटाको एम्बुलेन्स प्रयोग गर्ने भन्नेमा सल्लाह हुँदै छ । रेडक्रससँग पनि माग्ने कि भनेर छलफल हुँदै छ ।’
भरतपुर महानगरपालिका–२३ का वडाअध्यक्ष नरीनारायण पौडेलले भने संक्रमितलाई अस्पतालसम्म लैजान एम्बुलेन्स स्ट्याण्डबाई राखेको कुराबारे आफुलाई केहि जानकारी नभएको बताए ।‘मलाई केहि जानकारी आएको छैन, कसैले सम्पर्क पनि गरेका छैनन्’, उनले भने, ‘मेरो वडाभित्रका नागरिकको स्वाब संकलन गर्न नेपाल रेडक्रस उपशाखा जगतपुरको एउटा एम्बुलेन्स स्ट्याण्डबाई राख्ने भनेको हो । स्वास्थ्य चौकीको अर्काे एम्बुलेन्स चाँहि सुत्केरी लगायत अरु विरामीको लागि भनेर राखेको हो ।’
वडामा स्वास्थ्य चौकी जगतपुर र नेपाल रेडक्रस सोसाइटी उपशाखा जगतपुरको गरी दुई वटा एम्बुलेन्स रहेको उनले बताए । महानगर र वडा कार्यालयको केहि बजेट र स्थानीयहरुले भैलो खेलेर जम्मा गरेको पैसाले गत बर्षमात्रै स्वास्थ्य चौकीको लागि एउटा एम्बुलेन्स खरिद गरिएको हो । वडाध्यक्ष पौडेल स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष समेत हुन् ।पहिलो लहरको कोरोना महामारीका बेला वडाको एउटा एम्बुलेन्स महानगरले ६ महिनापछि मात्रै फिर्ता गरेको भन्दै उनले दोस्रो लहरको महामारी सुरु भएपछि आफुसँगै कुनै सम्पर्क नै नभएको बताए । कोरोना नियन्त्रणमा निश्क्रिय बनेको महानगरले अहिलेसम्म आइसोलेसन निर्माण र संत्रमितको कन्ट्याक्ट ट्रेसिङ पनि गर्न सकेको छैन ।