×

काठमाडौं । केन्द्रीय तथ्याङ्क विभागले शुरू गर्न लागेको १२ औ जनगणनाको पहिलो चरणको गणना तत्कालका लागि स्थगित भएको छ ।कोभिडको नयाँ भेरियन्ट तीव्ररूपमा फैलिएसँगै मन्त्रिपरिषदको निर्णयबाट जनगणना अगाडि नबढाउने निर्णय गरिएको राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा।डा पुष्पराज कँडेलले जानकारी दिए । यही वैशाख २६ बाट जनगणना शुरू गर्न लागिएको थियो ।

‘अहिले गणकहरूलाई खटाउने अवस्था पनि छैन , सही तथ्याङ्क पनि आउन सक्दैन । मान्छे डराएकाले विवरणहरू संकलन गर्न कठिन अवस्था भएको हुँदा जनगणना हुन सक्दैन ‘ ,उनले भने ।

कोभिड संक्रमणको दर कस्तो हुन्छ त्यसलाई मध्यनजर गरेर जनगणनाको अर्को मिति तय गरिने उनले बताए ।‘अहिलेको अवस्था हेर्दा साउन भन्दा अगाडी जनगणना होला मलाई लाग्दैन ‘, उनले भने ।गणना मन्त्रिपरिषदले स्थगित गरेको जानकारी प्राप्त भएको भएपनि आधिकारिक पत्र प्राप्त नभएको बिभागका एक अधिकारीले बताए । ‘स्थगित गरियो भन्ने सुनेको हो आधिकारिक पत्र आउन बाँकी छ’, उनले भने ।

जनगणनाका लागि केन्द्रीय तथ्याङ्क विभागले सबै तयारी पूरा गरेको थियो । विभागले ३९ हजार गणक र ८ हजार सुपरिवेक्षक नियुक्त गरिसकेको थियो ।गणनाका लागि आवश्यक सम्पूर्ण सामग्रीको व्यवस्थापन गरिसकेको समेत विभागले जनाएको छ । तर, कोभिड(१९ को नयाँ भरियन्टका कारण जनगणना स्थगित भएको छ ।

 

तपाईको प्रतिक्रिया