काठमाडौं । बाँकेमा थप ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । २७ देखि ५५ वर्षसम्मका ३ पुरुष र एक महिलाको शनिबार मृत्यु भएको हो । मृत्यु हुनेमध्ये ३ जना नेपालगञ्ज मेडिकल कलेजमा उपचाररत थिए भने एक जना आइसोलेसन सेन्टरमा थिए ।
मृत्यु हुनेमा राजापुर नगरपालिका २ बर्दियाका २७ वर्षीय पुरुष छन् । वैशाख १७ गते गरिएको पीसीआर परीक्षणमा कोरोना संक्रमण पुष्टि भएका उनलाई १८ गते नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा भर्ना गरिएको थियो । उनको १८ गते अपराह्न साढे ५ बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।
त्यस्तै, नेपालगञ्ज मेडिकल कलेजमा नै बैजनाथ गाउँपालिका २ बाँकेका ४० वर्षीय पुरुषको मृत्यु भएको छ । उनलाई वैशाख १४ गते अस्पताल भर्ना गरिएको थियो । वैशाख १७ गते पीसीआर परीक्षण गरिएकोमा उनलाई कोरोना पुष्टि भएको थियो । शनिबार साँझ ६ बजे उनको मृत्यु भएको हो ।
यसबाहेक मृत्यु हुनेमा खजुरा गाउँपालिका ३ बाँकेका ५५ वर्षीय पुरुष र कोहलपुर नगरपालिका ११ बाँकेका ४० वर्षीया एक महिला रहेकी छन् । जसमध्ये ५५ वर्षीय पुरुषको जनक शिक्षा सामाग्री केन्द्रको आइसोलेसनमा मृत्यु भएको हो भने महिलाको नेपालगञ्ज मेडिकल कलेज बाँकेमा मृत्यु भएको जनाएको हो ।
उता कञ्चनपुरका थप तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ । महाकाली अस्पताल र धनगढीको कैलाली अस्पतालममा उपचाररत तीन जना संक्रमितको गएराति मृत्यु भएको हो ।
महाकाली अस्पतालका कोभिड सम्पर्क व्यक्ति डाक्टर गोविन्द रोकायाले भेन्टिलेटरमा राखेर उपचार गराइरहेका भीमदत्त नगरपालिका १८ का ४८ वर्षीय पुरुष र भीमदत्त नगरपालिका ७ की ५५ वर्षीया संक्रमित महिलाको मृत्यु भएको जानकारी दिए ।
उनका अनुसार भेन्टिलेटरमा उपचाररत पुरुष बैशाख १६ गते अस्पताल भर्ना भएका थिए भने महिलाको दुई दिनदेखि ईमरजेन्सी वार्डमा अक्सिजन दिएर उपचार भइरहेको थियो ।
यस्तै धनगढीको कैलाली अस्पतालको कोभिड वार्डमा उपचाररत कञ्चनपुरको महेन्द्रनगरमा बस्दै आएका ३३ वर्षीया संक्रमित पुरुषको पनि मृत्यु भएको छ ।
जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले बैतडी घर भएर महेन्द्रनगरमा बस्दै आएका उनको आइतबार बिहान उपचारकै क्रममा मृत्यु भएको जानकारी दिए ।