
नयाँ दिल्ली । भारतमा कोरोनाभाइरसबाट एकैदिन सङ्क्रमित भएकाहरुको संख्या साढे तीन लाख पुग्न लागेको छ । सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा भारतमा तीन लाख ४७ हजार ७८६ जना सङ्क्रमित भएका हुन् ।
यो संख्या कोरोनाभाइरसको महामारी सुरु भएदेखिकै सवैभन्दा धेरै भएको पनि अधिकारीहरुले जनाएका छन् । केन्द्रीय स्वास्थ्य मन्त्रालयका अधिकारीहरुले पछिल्लो एक दिनमा दुई हजार ६२४ जनाको मृत्यु भएको विवरण सार्वजनिक गरेका छन् ।
योसँगै भारतमा कोरोनाभाइरसबाट अहिलेसम्म कुल एक लाख ८९ हजार ५४४ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । भारतमा अहिलेसम्म कुल एक करोड ६६ लाख १० हजार ४८१ जना कोरोनाभाइरसबाट संक्रमित भएको पाइएको छ ।
कुल संक्रमित मध्ये २५ लाख ५२ हजार ९४० जना अझै पनि संक्रमित अवस्थामै रहेको मन्त्रालयको तथ्याङ्क छ ।
त्यसैगरी अहिलेसम्म एक करोड ३८ लाख ६७ हजार ९९७ जना सङ्क्रमणमुक्त भइसकेका छन् । ती मध्ये दुई लाख १९ हजार ८३८ जना पछिल्लो एक दिनमा संक्रमणमुक्त भएका हुन् । भारतमा गत जनवरी १६ देखि कोरोनाभाइरस विरुद्धको खोप अभियान चलिरहेपनि भाइरसबाट संक्रमित र मृतकको सङ्ख्यामा दिन प्रतिदिन बृद्धि हुदै गएको छ । यो वृद्धिसँगै खुला सिमाना रहेको उत्तरी छिमकी नेपालमा पनि थप जोखिम बढ्दै गएको छ । (रासस/एएनआई)