चितवन । परराष्ट्रमन्त्री प्रदिपकुमार ज्ञवालीले आज भरतपुरको वागेश्वरीमा रहेको योगी नरहरिनाथ योग तथा प्राकृतिक चिकित्सालयको अवलोकन गरेका छन् ।भरतपुरमा एमाले चितवनको कार्यक्रममा आएका मन्त्री ज्ञवालीले योग तथा प्राकृतिक उपचारमा निकै उल्लेखनीय कार्य गरेको भन्दै चिकित्सालयको भ्रमण गरेका हुन् । चितवनका जिल्लास्तरीय नेताहरुसहित वागेश्वरी पुगेका मन्त्री ज्ञवालीले चिकित्सालयको उपचार पद्धतिको जानकारी लिनुका साथै उपचाररत बिरामीहरुसँग पनि कुराकानी गरेका थिए ।
सोही अवसरमा चिकित्सालयको विकासका लागि निर्माण गरिएको गुरुयोजनाबारे मन्त्री ज्ञवालीलाई जानकारी गराइएको थियो । झण्डै ४८ करोड बढी लाग्ने गुरुयोजनाबारे जानकारी लिए पछि मन्त्री ज्ञवालीले यसबारे सरकारलाई जानकारी गराएर विकासमा थप सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको चिकित्सालयका मेडिकल डाइरेक्टर डाक्टर हेमराज कोइरालाले जानकारी दिए ।
त्यसैगरी चिकित्सालय सञ्चालक समितिका सदस्य तथा देवघाट क्षेत्र विकास समितिका सदस्य नवराज ढकालले मन्त्री ज्ञवालीले यस क्षेत्रलाई योग तथा प्राकृतिक उपचारको हब बनाउँदै शिक्षालाई अगाडि बढाउनुपर्ने विचार राखेको बताए । त्यस चिकित्सालयको गुरुयोजनामा भवनहरु नयाँ बनाउने, प्राकृतिक चिकित्साको कलेजको रुपमा विकास गर्ने लक्ष्य राखिएको छ । मन्त्री ज्ञवालीको अवलोकन भ्रमणमा एमाले चितवनका नेताहरु कृष्णभक्त पोखरेल, पार्वती रावल, काशीनाथ अधिकारीलगायतको सहभागिता रहेको थियो । मन्त्री ज्ञवालीले चिकित्सालयमा उपचाररत बिरामीसँग कुरा गर्नुका साथै उपचार प्रक्रियाको अवलोकन पनि गरेका थिए ।
नेपालमा कोरोना संक्रमण बढ्दै गएको समयमा वागेश्वरीमा रहेको प्राकृतिक चिकित्सालय आइशोलेसनको रुपमा विकास गरिएको थियो । त्यहाँ गत भदौ महिनादेखि कोरोना संक्रमितको लागि आइसोलेसन सेन्टरको रुपमा सेवा दिन थालिएको थियो । अहिले आइसोलेसन बन्द छ ।