×

काठमाण्डौ । अचानक मौसममा आएको परिवर्तनका कारण काठमाण्डौमा वायु प्रदूषण ह्वात्तै बढेपछि सरकारले घरबाहिर ननिस्कन काठमाण्डौबासीलाई आह्वान गरेको छ ।वायू प्रदूषणका कारण स्वास्थ्यमा गम्भीर समस्या आउनसक्ने भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार एक अपील जारी गर्दै यस्तो आग्रह गरेको हो ।वायु प्रदूषणका कारण श्वासप्रश्वासमा समस्या लगायतका स्वास्थ्य समस्या आउनसक्ने भन्दै मन्त्रालयले घरबाहिर खुल्ला स्थानमा नबस्न, नखेल्न, मर्निंगवाकमा नजान, घरबाहिर गएर शारीरिक व्यायाम नगर्न आग्रह गरेको छ । घरभित्रै बसौं, घरमै व्यायाम गरौं ।मन्त्रालयले अपीलमा भनेको छ : बालबालिका, दीर्घरोगी, जेष्ठ नागरिकहरुको विशेष ख्याल गरौं ।

मन्त्रालयले फोहोर जलाउने काम नगर्न समेत आह्वान गरेको छ । फोहोर जलाउँदा निस्किने धूँवा निकै विषाक्त हुने र यसले वातावरणलाई थप विषाक्त बनाउनसक्ने विज्ञ बताउँछन् ।मन्त्रालयले घरबाहिर निस्किनै परे अनिवार्य मास्क लगाउन, कोभिडको संक्रमणको समेत डर अझै उच्च हुने भएकोले आवश्यक सबै मापदण्ड पालना गर्न समेत आग्रह गरेको छ ।

सरकारले धूलोधूँवा उड्ने खालका पेशा, व्यवसाय, निर्माण कार्य केही दिनलाई स्थगन गर्न समेत भनेको छ । केही दिनपछि त्यस्ता पेशा व्यवसाय सुचारु गर्दा पनि धूलोधूँवा भरसक नउडाउन भनिएको छ ।मन्त्रालयले अत्यावश्यक नभई सवारी साधन समेत नचलाउन आग्रह गरेको छ ।

तपाईको प्रतिक्रिया