Grishma Media Pvt. Ltd

Nawalpur, Gandaki, Nepal
Phone:+977.9855033222

Email: ujayalokhabar1@gmail.com

काठमाण्डौ – अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोभिड–१९ सङ्क्रमण रोकथामका लागि लकडाउन नहुने स्पष्ट पार्नुभएको छ । कोभिड–१९ को दोस्रो लहरबाट जोगिनुपर्ने अवस्था सँगसँगै आर्थिक, सामाजिक क्रियाकलापलाई नियमित गर्नुपर्ने भएकाले स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउने तर लकडाउन र सीमा नाका बन्द नगरिने मन्त्री पौडेलले बताउनुभएको हो ।

अर्थमन्त्री पौडेलले कोभिड रोकथामका लागि सीमा नाका बन्द गर्ने अथवा लकडाउन गर्ने सरकारको सोच नभएको बताउनुभएको हो । उहाँले भन्नुभयो, ‘हामी आशङ्काबाट होइन यथार्थबाट निर्देशित भएर अगाडि बढ्नुपर्छ । कोभिडको दोस्रो लहरको चर्चा चलिरहेको छ त्यसबाट हामी जोगिनु पर्ने छ भन्ने सरकारको सोच हो । अर्कोतर्फ आर्थिक, सामाजिक क्रियाकलापलाई नियमित र सुरु पनि गर्नुपर्ने आवश्यकता छ । त्यसकारणले हामी आर्थिक, सामाजिक क्रियाकलापलाई सुरु पनि गर्छौँ, नियमित पनि गर्छौँ र स्वास्थ्य मापदण्डलाई ख्याल गरेर अगाडि बढ्छौँ । अहिले सरकारले सीमा नाका बन्द गर्ने, लकडाउन गर्नेतर्फ सोचेको छैन । त्यो अहिले उपयुक्त पनि हुँदैन ।’

अर्थमन्त्री पौडेलले सरकार बजेटको तयारीमा जुटिसकेको पनि बताउनुभयो । सिद्धान्त र प्राथमिकताको तयारी अन्तिम चरणमा पुगेको र बजेटको तयारी पनि सुरु भइसकेको उहाँले बताउनुभयो । कोभिडपछिको आर्थिक पुनर्उत्थान, रोजगारी सिर्जनालगायतका विषयमा केन्द्रित भएर बजेट निर्माण गरिने पनि अर्थमन्त्री पौडेलले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘हामी बजेटको तयारीमा जुटेका छौँ । सिद्धान्त र प्राथमिकताको तयारी झण्डै अन्तिम चरणमा आइपुगेको छ । सँगसँगै हामी बजेटको तयारीमा पनि जुटिनैरहेका छौँ । समग्रतामा पछि बताउँला, उपयुक्त समयमा चर्चा गरौँला । मुख्य हामी कोभिडपछिको आर्थिक पुनर्उत्थान, रोजगारी सिर्जनाजस्ता विषयमा बढ्ता केन्द्रित हुन्छौँ । नेपाली अर्थतन्त्रलाई पुरानो लयमा फर्काउन र गतिशील बनाउन गर्नुपर्ने निर्णयहरू लिने गरी बजेट लिएर आउँछौँ ।’

 

तपाईको प्रतिक्रिया