×

भरतपुर । एक करोड भन्दा बढी रकम हिनामिना गरेको आरोपमा पक्राउ परेका मालपोत कार्यालय चितवनका तत्कालीन लेखा अधिकृत रिठ्ठे दमाईलाई चितवन जिल्ला अदालतले पूर्पक्षका लागि कारागार चलान गरेको छ ।

जिल्ला न्यायाधीश हेमन्त रावलको इजलासले आज  दमाईलाई पूर्पक्षका लागि भरतपुर कारागार पठाउन आदेश दिएको अदालतका शाखा अधिकृत नवराज सिंखडाले जानकारी दिए । दमाईलाई आजै जिल्ला प्रहरी कार्यालयबाट भरतपुर कारागार पठाइएको प्रहरी उपरीक्षक सूर्य थापाले जानकारी दिए ।

सरकारी वकिल कार्यालयले ७ वर्ष कैद मागदावी गर्दै चितवन जिल्ला अदालतमा विहीबार मुद्धा दायर गरेको थियो । दमाईले सरकारी खातामा दाखिला हुनुपर्ने राजस्व कीर्ते छाप तथा दस्तखत र नक्कली बिल भरपाई गरी एक करोड १७ लाख २४ हजार ५३८ रुपैयाँ हिनामिना गरेको आरोप छ ।

तपाईको प्रतिक्रिया