×

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको प्रभावकारी कार्यान्वयन र लोकतन्त्रको सुदृढिकरणका लागि राजनीतिक दलबीचको सहकार्यलाई निरन्तरता दिनुपर्ने बताएकी छन् ।

मंगलबार राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित सर्वदलीय बैठकमा उनले आपसी संवाद, सहकार्य र एकता नेपालको राजनीतिक सौन्दर्य भएको पनि उल्लेख गरिन् ।

‘हाम्रो समाज शालीन, सभ्य र सहिष्णु रहिआएको छ । यहाँको नेतृत्वले सधैं उच्च राजनीतिक संस्कार कायम गर्दै आएको छ । यो असल संस्कार निरन्तर कायम रहनुपर्छ’ राष्ट्रपति भण्डारीको भनाइ उधृत गर्दै राष्ट्रपति कार्यालयले विज्ञप्तिमा भनेको छ ।

राष्ट्रपति भण्डारीले नेपालको अतिक्रमित भूभाग सामेल गरी गत जेठमा नयाँ रजनीतिक नक्सा प्रकाशन गर्न राजनीतिक दलहरुले अभूतपूर्व राष्ट्रिय एकता प्रदर्शन गरेको भन्दै धन्यवाद दिइन् ।

सर्वदलीय बैठकमा प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र उपेन्द्र यादव सहभागी थिए ।

त्यस्तै गृहमन्त्री रामबहादुर थापा, एमाले महासचिव ईश्वर पोखरेल, नेता सुवास नेम्वाङ, विष्णु पौडेल, नेपाली कांग्रेसका तर्फबाट रामचन्द्र पौडेल, विमलेन्द्र निधि, डा। शशांक कोइराला, माओवादी केन्द्रका नेताहरु नारायणकाजी श्रेष्ठ र देव गुरुङ पनि सहभागी थिए ।

 

तपाईको प्रतिक्रिया