×

नवलपुर । नवलपरासीको धौवादीमा फलाम उत्खननको काम थाल्न कम्तीमा पनि तीन वर्ष लाग्ने भएको छ । धौवादी फलाम कम्पनीका प्रमुख कार्यकारी अधिकृत(सीईओ)  जनक चन्दका अनुसार फलामखानीमा अहिले पनि अध्ययनकै काम चलिरहेको छ । पाइलट टेस्टिङका लागि पाँच टन खनिजको नमुना चीन पठाइएको थियो, चीनको प्रयोगशालामा परीक्षण गर्दा धौवादीमा फलाम रहेको पुष्टि भइसकेको छ । परीक्षणले औद्योगिक प्रशोधनमार्फत धौवादीको खानीबाट शुद्ध फलाम निस्कने पक्का भएको देखिएको सीईओ चन्दको भनाइ छ ।

‘हामीले पठाएको पाँच टन नमुना खनिजमा ३५ प्रतिशत फलाम रहेको प्रतिवेदनले देखाएको छ तर यस विषयमा थप अध्ययन पनि जरुरी छ’, सीईओ चन्दले भन्नुभयो ।धौवादी फलाम खानीमा अहिले १३ सय मिटर गहिरो ड्रिलिङको काम भइरहेको छ । ड्रिलिङपछि आउने भण्डारणसम्बन्धी प्रतिवेदनका आधारमा अर्को चरणको सम्भाव्यता अध्ययन हुनेछ । ‘ड्रिलिङको रिपोर्ट नै सम्भाव्यता अध्ययनका लागि आधार हुनेछ । त्यसपछि बल्ल विस्तृत परियोजना प्रतिवेदन डीपीआर गरिनेछ’, चन्दले भन्नुभयो ।

अब सम्भाव्यता अध्ययन हुनेछ, त्यसपछि डीपीआर हुनेछ, डीपीआरपछि वातावरणीय प्रभाव अध्ययन ईआईए हुनेछ, त्यसपछि बल्ल उत्पादनकै लागि भनेर काम सुरु हुनेछ । यी सबै अध्ययनका लागि कम्तीमा तीन वर्ष लाग्नेछ ।

‘खानीमा कति फलाम छ भन्ने कुरा अहिले थाहा भइसकेको छैन, आर्थिक रूपमा कत्तिको फाइदा हुन्छ हेरेर मात्रै उत्पादनको काम थाल्नुपर्ने हुन्छ, हामीले गरेको लगानी पनि नउठ्ने परिमाणमा फलाम रहेछ भने उत्पादन नै सुरु नगर्न पनि सक्छौँ’, सीईओ चन्दले भन्नुभयो । कम्पनीका लागि जग्गा भोगाधिकारको स्वीकृति प्राप्त भइसकेको छ । खानीसम्म सडक पु¥याउनका लागि ठेक्का आह्वान भइसकेको छ । खानी क्षेत्रमा विद्युत् पहुँचका लागि पनि प्रक्रिया अघि बढिसकेको छ ।

तपाईको प्रतिक्रिया