काठमान्डौं । नेकपा एमालेका झलनाथ खनाल-माधव नेपाल समूहका ११ जना सदस्यले संयुक्त विज्ञप्ति जारी गर्दै पार्टी अध्यक्ष केपी शर्मा ओलीमाथि दक्षिणपन्थी विर्सजनवादी भएको आरोप लगाएका छन्।
‘केपी ओलीका पार्टी विधान विपरीतका अराजक, स्वेच्छाचारी, विसर्जनवादी र विघटनकारी क्रियाकलाप नै पार्टी एकता तथा कम्युनिष्ट आन्दोलनका सामु समस्याका रुपमा उपस्थित भएका छन्। हामी त्यस्ता समस्याहरुको निराकरण गर्दै पार्टीलाई विसर्जन र विघटनबाट बचाउँन चाहन्छौं। निर्वाचनको मोर्चाबाट समेत कम्युनिष्ट पार्टीलाई विजयी बनाई राष्ट्रिय हित, स्वाधीनता र अखण्डता तथा स्वाभिमानलाई सुदृढ तुल्याउँदै जनताको समृद्धि हासिल गर्न चाहन्छौं’, विज्ञप्तिमा भनिएको छ, ‘यसका लागि पुनर्जीवित पार्टीलाई क्रान्तिकारी रुपमा पुनर्गठन गर्ने अभिभारा हाम्रो काँधमा आएको छ। अतः सम्पूर्ण पार्टी सदस्य र समर्थकहरुले केपी ओलीको राज्यसत्ता संरक्षित दक्षिणपन्थ र विसर्जनवादका विरुद्ध दृढताका साथ संघर्ष गर्दै अघि बढ्नु अपरिहार्य भएको छ।’
नेपाल कम्युनिष्ट पार्टी एकीकृत माक्र्सवादी–लेनिनवादीको सिद्धान्त, नीति र विधि हाम्रो पक्षमा छ र हामी केपी ओली गुटका अवैधानिक, अलोकतान्त्रिक र स्वेच्छाचारी कृत्यहरुलाई पराजित गरी छाड्नेछौँ भन्दै उनीहरूले अगाडि भनेका छन्, ‘पार्टीको लोकतान्त्रिक र क्रान्तिकारी चरित्रलाई पुनःस्थापित गरी मुलुकको अग्रगामी परिवर्तनलाई सुदृढ र वामपन्थी शक्तिहरुलाई एकतावद्ध बनाउँदै नेकपा एमालेलाई एकताबद्ध र सशक्त किसिमले अघि बढाउन सम्पूर्ण नेता, कार्यकर्ता, समर्थक र शुभेच्छुकहरुमा हार्दिक आव्हान गर्दछौं।’उनीहरुले संयुक्त वक्तव्य जारी गर्दै त्यसविरुद्ध दृढताका साथ संघर्ष गर्ने समेत बताएका छन् ।
हेर्नुहोस् संयुक्त विज्ञप्ति