काठमाण्डौ – सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको प्रमुख सुरक्षा अङ्ग नेपाली सेनाले महाशिवरात्रि एवम् सेना दिवस बिहीवार देशभर विविध कार्यक्रम गरी मनाउँदैछ । राष्ट्रपति विद्यादेवी भण्डारी शिवरात्रि तथा सेना दिवसकै अवसरमा सैनिक मञ्च टुँडिखेलमा आयोजना हुने बढाइँ कवाजसहितको विशेष समारोहमा प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुनेछ ।
नागरिकको आस्था र भरोसाको केन्द्रबिन्दुका रूपमा रहेको नेपाली सेनाको राष्ट्रपति परमाधिपति हुनुहुन्छ । समारोहमा राष्ट्रपतिबाट नेपाल एकीकरणको इतिहास, नेपालको ऐतिहासिक गढी, किल्ला तथा युद्धस्थलको परिचय र सिपाही वार्षिक–२०७७ लोकार्पणका साथै ‘फ्रि–फल जम्प’मा प्रथम र द्वितीय हुनेलाई पुरस्कार वितरण हुनेछ ।
सैनिक मञ्च टुँडिखेलमा मुख्य समारोह तथा देशभर सेनाका सबै कार्यालय, विभाग, फर्मेशन, पृतना, बाहिनी, युनिट तथा सब–युनिटले पनि आ–आफ्नो क्षेत्रमा विभिन्न कार्यक्रम गरी सेना दिवस भव्यताका साथ मनाउने सेनाका प्रवक्ता सन्तोषवल्लभ पौडेलले जानकारी दिनुभयो ।
नेपाली सेनाले दुई दशकअघिदेखि महाशिवरात्रिको दिनलाई सेना दिवसका रूपमा मनाउँदै आएको छ । सैनिक मञ्चमा परेड ९शस्त्राभ्यास० तथा तोप बढाइँ, कवाजलगायत विविध सांस्कृतिक कार्यक्रम सञ्चालन हुनेछन् ।
समारोहमा राइफल तथा तोपबाट बढाइँ कवाज, त्रिभुवन आर्मी क्लबका खेलाडी र राष्ट्रिय सेवा दलका क्याडेटलगायत विभिन्न युनिटबाट मार्चपाष्ट, बख्तरबन्द गाडी, हतियार र इक्युप्मेन्ट प्रदर्शन, ब्याण्ड डिस्प्ले, हेलिकप्टरबाट नेपालको राष्ट्रिय झण्डा र सेना दिवस–२०७७ लेखिएको ब्यानर प्रदर्शनी साथै पुष्पवृष्टि गरिनेछ ।
काठमाण्डौमा गएको वर्ष तीनरतीन हजार ६ सयको सङ्ख्यामा सेनाको जनशक्ति महाशिवरात्री तथा सेना दिवसका कार्यक्रममा सहभागी रहेकामा यस वर्ष कोभिड–१९ का कारण त्यो सङ्ख्या कटौती गरी दुई हजार चार सयमा सीमित गरिएको छ ।
राष्ट्रिय गौरवका सडक निर्माण आयोजना, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्षण र विश्व शान्ति स्थापनामा सहभागिता तथा विपद् व्यवस्थापनसम्बन्धी विविध गतिविधि झल्कने झाँकीसमेत प्रदर्शन हुनेछ । नेपाली सेनाको सङ्गठन प्रमुखमा अहिले प्रधानसेनापति पूर्णचन्द्र थापा हुनुहुन्छ । आकर्षक सैनिक कला फ्रि–फल जम्प र खुकुरी ड्रिल प्रदर्शन गरिनेछ ।
सेना दिवसका अवसरमा कल्याणकारी कोषबाट ऋण सहयोग लिइ उत्कृष्ट कार्य गर्ने किसानलाई प्रधान सेनापति उत्कृष्ट कृषक सम्मान, उत्कृष्ट उद्यमीलाई प्रधानसेनापति लघुवित्त उद्यमी सम्मान र सर्वोत्कृष्ट भूतपूर्व सैनिक सम्मान गर्ने पनि कार्यक्रम छ ।
प्रकृति संरक्षण, युद्ध कार्य एवं पेसागत निरीक्षण २०७७ मा उत्कृष्ट नतिजा हासिल गर्ने युनिटलाई मुख्य समारोहपछि प्रधानसेनापतिले ट्रफी तथा पुरस्कार प्रदान गर्नुका साथै पदोन्नति हुनेलाई दर्ज्यानी चिह्न तथा वर्षभरि उत्कृष्ट कार्य गर्नेलाई प्रधानसेनापति प्रशंसा निसान प्रदान गरिनेछ ।
सेना दिवसका उपलक्ष्यमा जङ्गी अड्डा मातहतका युनिटले दिपावली गर्ने, वीरगति प्राप्तका सम्मानमा वीर स्मारकमा माल्यार्पण तथा श्रद्धाञ्जली अर्पण गर्ने, वीरगति प्राप्त सैनिकका एकल महिला तथा घाइते सैनिकलाई आमन्त्रण गरी विभिन्न कार्यक्रम सञ्चालन गर्नुका साथै जिम्मेवारी क्षेत्रमा स्वास्थ्य शिविर सञ्चालन, मठ, मन्दिर र इलाका सरसफाइ, रक्तदान, मैत्रीपूर्ण खेलकुद भइरहेको छ ।
सेनाको इतिहास र अन्तर्राष्ट्रिय छवि
नेपालको स्वतन्त्रता, भौगोलिक अखण्डता तथा सार्वभौमसत्ताको रक्षाका लागि इतिहासका विभिन्न कालखण्डमा नेपाली सेनाले उदाहरणीय र कीर्तिमानी काम गर्दै आएको छ ।
वर्तमान सेनाको साङ्गठनिक स्वरूपको १८१९ सालदेखि सुरुवात भएको हो । देशभक्ति, समर्पण र आम नेपालीको हितलाई केन्द्रबिन्दुमा राखी सम्पादन गरेका गौरवशाली कार्यबाटै नागरिकका बीचमा सेनाले आस्था र विश्वासको अटल छाप छोड्न सफल भएको छ ।
सैनिक वीरपूर्खाको अदम्य साहस, वीरता र बलिदानका आधारमा नेपाल राष्ट्र स्थापना भएको हो । राष्ट्रिय एकता कायम राख्नु नेपाली सेनाको संवैधानिक जिम्मेवारीभित्र पर्छ । सेनामा अनुशासन, चेनअफ कमाण्ड र राजनीति निरपेक्ष चरित्र, एकताको भावना उच्च संस्कारका रूपमा रहने गर्छ ।
नेपाली सेना देशमा मात्र नभइ अन्तर्राष्ट्रिय क्षेत्रमा समेत भरपर्दो र विश्वसनीय फौजको छवि बनाउन सफल भएको छ । समावेशीका हिसाबले अहिले नेपाली सेनाको सङ्गठन ‘चार जात, छत्तिस वर्ण’को फूलबारी जस्तै बनेको छ । महिलाको सहभागिता पनि उल्लेखनीयरूपमा वृद्धि हुँदै गएको छ ।
संयुक्त राष्ट्र सङ्घको आह्वानमा विश्वका विभिन्न द्वन्द्वग्रस्त देशमा शान्ति स्थापनार्थ नेपाली सेनाले प्रदान गरेको अतुलनीय योगदानको राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रबाट मुक्तकण्ठले प्रशंसा हुँदै आएको छ ।
संयुक्त राष्ट्र सङ्घीय शान्ति स्थापनामा नेपाली सेनाको सहभागिता सन् १९५८ देखि सुरु भएको थियो । अहिलेसम्म ४३ शान्ति मिसनमा रही एक लाख ३५ हजार ४१ सैनिकबाट विश्व शान्तिका लागि योगदान भइसकेको छ ।
विश्वका कतिपय द्वन्द्वग्रस्त देशमा शान्तिका लागि ज्यानको बाजी लगाउँदै नेपालका ६८ सैनिकले जीवन बलिदान दिइसकेका छन् भने ६६ सैनिक गम्भीर घाइते छन् । विश्वमा अहिले खडा भएका १२ शान्ति मिसनमा ८७ महिला सैनिकसहित पाँच हजार एक सय ३९ हजारको सङ्ख्यामा नेपाली शान्ति सैनिक परिचालित छन् । शान्ति स्थापनाका लागि सेना खटाउने देशको कोटीमा नेपाल चौथो स्थानमा छ । नेपालले संयुक्त राष्ट्र सङ्घलाई आवश्यक परेको खण्डमा १० हजारको सङ्ख्यामा एकै पटक शान्ति सैनिक पठाउन सक्ने प्रतिबद्धता जनाइसकेको छ ।
विश्वका अत्यन्त शक्तिशाली देशका सैनिकका लागिसमेत नेपाल पेसागत क्षमता र दक्षता अभिवृद्धि गर्ने पाठशाला बनिरहेको छ ।
वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र, भक्तपुर खरिपाटीको सैनिक शिक्षालय र शिवपुरीको आर्मी कमाण्ड एण्ड स्टाफ कलेजमा विश्वका कैयौँ देशका सैनिक सहभागीले यसलाई पुष्टि गर्छ । विश्वका कुनै पनि महादेशका द्वन्द्वग्रस्त क्षेत्रका पीडित जनताबीच शान्ति सेनाका रूपमा पहिलो रोजाइमा नेपाली सेना नै पर्ने गरेको छ ।
सेनाले पछिल्लो समय देशभित्र विपद् व्यवस्थापन र सडकलगायत पूर्वाधार निर्माणमा भरपर्दो छवि स्थापित गर्न सफल भएको छ । सेनाकै व्यवस्थापनमा राष्ट्रिय गौरवको काठमाण्डौ–तराई मधेश
द्रुतमार्ग ९फास्ट ट्र्याक० को काम भइरहेको छ ।
दरबार, सङ्ग्राहलय, ऐतिहासिक महत्त्वका संरचना, विद्युत् गृह, भौतिक पूर्वाधार र प्राकृतिक सम्पदाको सुरक्षा तथा विकास निर्माणको जिम्मेवारीले सैनिक–नागरिकसँगको सम्बन्धलाई बलियो बनाउँदै लगेको छ । रासस