×

गोविन्द घिमिरे
गैँडाकोट । पूर्वि नवलपरासीमा ज्येष्ठ नागरिकलाई कोरोना भाइरस विरुद्धको खोप लगाउने तयारी अन्तिम चरणमा पुगेको छ । जिल्ला स्वास्थ्य कार्यालय नवलपरासी (पूर्व) ले ६५ वर्ष उमेर पुगेका झण्डै २० हजार ज्येष्ठ नागरिकलाई कोरोना भाइरस विरुद्धको खोप ‘कोभिडशिल्ड’ लगाउने तयारी गरेको हो ।
जिल्लाका २२५ वटा केन्द्रमार्फत ज्येष्ठ नागरिकलाई भोलि (फागुन २३) देखि खोप लगाउने तयारी गरिएको जिल्ला स्वास्थ्य कार्यालय नवलपरासी (पूर्व) का प्रमुख केशव चापागाँईले जानकारी दिए ।खोप लगाउनका लागि नवलपुरमा ८७ जना कर्मचारी र ६१८ स्वयंसेवक खटिने स्वास्थ्य कार्यालयले जनाएको छ । चापागाँई अनुसार जिल्लामा प्रत्येक स्वास्थ्यकर्मी र स्वयंसेवक सबैलाई तालिम प्रदान गरिएको छ ।

ज्येष्ठ नागरिकको सुविधालाई ध्यानमा राखि स्थानीय तहमा रहेका स्वास्थ्य संस्था मार्फत खोप लगाइने स्वास्थ्य कार्यालयका सूचना अधिकारी बिर बहादुर श्रेष्ठले जानकारी दिए । खोप लगाउन जाँदा आफ्नो  नागरिकता  साथमा लैजानु पर्ने छ। खोप लगाएपछि कुनै ‘साइडिफेक्ट’ देखिए सोका लागि छुट्टै स्वास्थ्यकर्मीको व्यवस्थापन गरिएको छ ।

रगत जम्ने समस्या भएका मानिस र गर्भवती महिलाहरुले कोरोना विरुद्धको खोप लगाउन नहुने उनले जानकारी दिए। क्यान्सर, मुटु, मिर्गौला, प्रेसर, थाइराईडका विरामीलाई कुनै असर नगर्ने श्रेष्ठको भनाई छ ।
गैँडाकोट नगरपालिका, देवचुली नगरपालिका, कावासोती नगरपालिका, मध्यविन्दु नगरपालिका,हुप्सेकोट गाउँपालिका, विनयी त्रिवेणी गाउँपालिका, बौदीकाली गाउँपालिका र बुलिङटार गाउँपालिकामा खोप लगाउनका लागि भ्याक्सीन पठाईसकिएको छ ।

दोस्रो प्राथमिकतामा परेका ६५ वर्ष पुगेका व्यक्तिलाई लगाएपछि दोस्रो चरणमा ५५ बर्ष माथिका व्यक्तिलाई खोप उपलब्धताको आधारमा लगाइने स्वास्थ्य कार्यालयले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया