
काठमाडौं । सरकारका प्रवक्ता, सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले सर्वोच्च अदालतको फैसलाले नै प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा गर्नबाट रोकेको जिकिर गरेका छन् ।
मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा उनले संसद विघटनसम्बन्धी मुद्दामा सर्वोच्चले दिएको फैसलामा बहुमतप्राप्त दलले सरकार बनाउनै पर्ने उल्लेख भएकाले अहिले प्रधानमन्त्रीले राजीनामा दिन नमिल्ने बताएका हुन् ।
‘फैसलाले बहुमतप्राप्त दलको नेताले संवैधानिक हैसियतले, नैतिकताको हैसियतले आफ्नो जिम्मेवारीबाट भाग्न पाइँदैन । राज्य सञ्चालन गर्नु तपाईको दायित्व हो, जिम्मेवारी, नैतिकताको विषय हो भनेको छ’ उनले भने ।
मन्त्री गुरुङले अगाडि भने, ‘राजीनामाबाट रोक्ने काम सर्वोच्चको फैसलाबाटै भएको छ । त्यसैले अहिले राजीनामा गर्नुहुन्न, जे हुन्छ संसदीय प्रक्रियाबाट फैसला हुन्छ ।’
मन्त्री गुरुङले प्रधानमन्त्रीले राजीनामा दिनुपर्छ भनेर नैतिकताको पाठ सिकाउनेहरुले राजनीतिबाट सन्यास लिए हुने टिप्पणी गरे ।