×

काठमाडौं, फागुन १२ । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतको फैसलाले केही फरक नपार्ने भन्दै अलिकत्ति पनि मनोवल तल नपार्न अपिल गर्नुभएको छ । प्रतिनिधि सभा पुनःस्थापना भएपछि पहिलो सार्वजनिक कार्यक्रममा बोल्दै नेकपाका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री ओलीले यस्तो भनाई राख्नुभएको हो ।

‘हिजोको अदालतको फैसलाले प्रभाव पारेको छैन, त्यो सामान्य कुरा हो,’ नेपालको माटोको डिजिटल नक्सा सार्वजनिक कार्यक्रमलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयो । प्रचण्ड र माधव जस्ता स्वार्थबाट लपेटिएकाहरूलाई यस्ता कुराले प्रभाव पार्ने तर काम गर्नेलाई कुनै फरक नपर्ने प्रधानमन्त्री ओलीले प्रष्ट पार्नुभयो ।

प्रचण्ड समूहलाई लक्षित गर्दै प्रधानमन्त्री ओलीले पुनःस्थापनाको फैसलामा लड्ड खानेहरूले केही नपाउने प्रष्ट पार्नूभयो । ‘मेरा भाइहरूले लड्डु खाए, जित्यौं भन्नुभएको छ, के जित्या हो था छैन, के पाउँछन मैले पनि हेर्नुछ, मेरो विचारमा भोलि–पर्सीदेखि राजीनामा माग्नुहुन्छ, राजीनामा देउ–राजीनामा देउ भन्छन, विकासतिर उहाँहरूको ध्यान छैन,’ प्रधानमन्त्री ओलीले भन्नुभयो ।

प्रधानमन्त्री, मन्त्री पदमा सधै रहन नसकिने भन्दै उहाँले बस्दासम्म देशका लागि काम गर्नुपर्ने बताउनु भयो । ‘पदमा रहन्जेल राम्रो काम गर्नुपर्छ, तर म भन्छु जबसम्म बाँचिन्छ तबसम्म राम्रो काम गरिन्छ,’ प्रधानमन्त्री ओलीले भन्नुभयो । उहाँले देश बनाइछाड्ने, देशलाई समृद्ध र जनतालाई सुखी बनाइछाड्ने प्रतिबद्धता पनि जनाउनुभयो ।

‘सरकार छ, सरकार रहन्छ, अरू कुरा गर्यो भने तर्सन्छन, उदाउने खुशीयालीमा पनि सूर्य रातै भएर उदाउँछ, अस्ताउने बेला पनि रातै भएर अस्ताउँछ,’ प्रधानमन्त्री ओलीले भन्नुभयो ।

तपाईको प्रतिक्रिया