×

नवलपुर । ६८ औं जिल्लाका रुपमा नवलपरासी (बर्दघाट सुस्तापूर्व) स्वास्थ्य बिमा दर्ता कार्यक्रम सुरु गरिएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आइतबार जिल्लाको कावासोतीमा कार्यक्रमको सुरु गर्नुभएको हो ।
जिल्लाका आठवटै स्थानीय तहमा आज देखी स्वास्थ्य बिमा दर्ता कार्यक्रम शुरु गरिएको गण्डकी प्रदेश स्वास्थ्य बिमा बोर्डका संयोजक जीवलाल खरेलले बताउनुभयो ।  नवलपुर ६८ औं जिल्लाका रुपमा बिमा कार्यक्रम शुरु भएको हो । यस अघि देशैभरका ६७ जिल्लामा स्वास्थ्य बिमा कार्यक्रम लागु भइसकेको र नवलपुरमा ६८ औं जिल्लाका रुपमा बीमा कार्यक्रम सुरु भएको संयोजक खरेलले बताउनुभयो ।
जिल्लामा बिमा कार्यक्रम शुरु गर्नुपूर्व आठवटै स्थानीय तहका ९२ वटा वडामा ९२ जना दर्ता सहयोगी छनौट गरी सकिएको छ । साथै उनीहरुलाई तीन दिनको तालिम समेत प्रदान गरिसकिएको संयोजक खरेलले बताउनुभयो । जिल्लामा प्रभावकारी रुपमा बिमा कार्यक्रम संचालनकालागि सबै स्थानीय तहहरुमा अभिमुखीकरण कार्यक्रम समेत सञ्चालन गरिएको उहाँले बताउनुभयो ।
स्वास्थ्य बीमा दर्ता कार्यक्रम शुरु गरिएपनी बिमा गर्ने परिवारको व्यक्तिले जेठ १ गतेबाट सेवा प्राप्त गर्ने गण्डकी प्रदेश स्वास्थ्य बिमा बोर्डका संयोजक खरेलले बताउनुभयो । माघ,फागनु र चैत महिनामा दर्ता गर्नेले जेठ १ गतेबाट सेवा प्राप्त गर्न सक्ने भएकाले नवलपुरमा बीमाको सेवा दिनकार्य जेठ १ गतेबाट हुने उहाँले बताउनुभयो ।
गण्डकी प्रदेशको नवौँ जिल्लाको रुपमा नवलपुरमा स्वास्थ्य बिमा कार्यक्रम लागु भएको हो । नेपाली नागरिकहरूलाई स्वास्थ्य सेवामा सहज पहुँच पुर्याउने उद्देश्यले नेपाल सरकारले यो कार्यक्रम सञ्चालन गरेको हो । नेपालको संविधानमा आधारभूत स्वास्थ्य सेवालाई नेपाली नागरिकको मौलिक हकका रूपमा समेटिएको छ ।
नेपाली जनताको गुणस्तरीय स्वास्थ्य सेवामा पहुँच र उपयोगमा सुधार ल्याई स्वास्थ्य बिमाका आधारमा सबैको स्वास्थ्य सेवा सुनिश्चित गर्ने राष्ट्रिय स्वास्थ्य बीमा नीति विसं २०७१ को दीर्घकालीन लक्ष्यअनुसार कार्यक्रम अघि बढाइएको बोर्डका संयोजक खरेलले बताउनुभयो ।
स्वास्थ्य बिमा गरी ५ जनासम्मको परिवारले  ३५ सय रुपैँया बुझाएर  १ लाख बराबरको स्वास्थ्य सेवा लिन सक्नेछन् । त्यस्तै ५ जनाभन्दा धेरै परिवार सदस्य भएको खण्डमा प्रतिव्यक्ति ७ सय थप गरी २० हजार बरावरको स्वास्थ्य सेवा थप हुने र प्रत्येक वर्ष नविकरण गरी बिमा गर्न सकिने संयोजक खरेलले बताउनुभयो ।
७० वर्ष उमेर पुगेका जेष्ठ नागरिक, रातो कार्ड भएका अपाङ्ग, एच आई भि, कुष्ठरोग तथा क्षयरोगको विरामीहरुको निशुल्क स्वास्थ्य विमा हुने खरेलले जानकारी दिनुभयो ।
स्वास्थ्य बिमा गरेपछि स्वास्थ्य विमाले परिचयपत्र उपलब्ध गराउने र सोही परिचय पत्रको आधारमा तोकिएका स्वास्थ्य संस्थाहरुमा गएर सेवा लिन सकिने छ । नवलपुरमा जिल्ला अस्पताल, नगर अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र सहित सबै सरकारी स्वास्थ्य संस्थाबाट स्वास्थ्य बिमाको उपचार सेवा लिन सकिने छ ।
यसै बीच स्वास्थ्य बिमा दर्ता कार्यक्रमको शुभारम्भ गर्दै मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले स्वास्थ्य र शिक्षाका क्षेत्र राज्यको नियन्त्रणमा हुनुपर्ने बताउनुभयो । कोभीडले समेत यो शिक्षा प्रदान गरेको भन्दै यी दुवै क्षेत्रमा राज्यको लगानी र नियत्रणमा हुनुपर्ने उहाँले बताउनुभयो । शिक्षा र स्वास्थ्यलाई नाफाको व्यवसाय बनाउदा जनताले धेरै समस्या भोग्नुपर्ने बताउदै उहाँले राज्यले लगानी गरी सहज बनाउनुपर्ने बताउनुभयो । ‘शिक्षा र स्वास्थ्यलाई नाफाको व्यवसाय बनाउदा जनताले धेरै समस्या भोग्नुपर्छ, यसमा राज्यको नियन्त्रण र लगानी हुन आवश्यक छ’ मुख्यमन्त्री गुरुङले भन्नुभयो –अनिमात्रै राज्यको दायित्व पुरा हुन्छ ।
‘कोभीडको समयमा जहाँ जहाँ राज्य बलियो छ त्याहाँ त्याहाँ सहज भयो, राज्यको लगानी नभएको ठाउँमा घुडा टेक्नु पर्यो, अमेरिका समेत त्यही भुमरीमा पर्यो’ मुख्यमन्त्री गुरुङले भन्नुभयो–यसैले स्वास्थ्य र शिक्षाको क्षेत्रमा राज्यले निजी क्षेत्रलाई सुम्पिन हुदैन ।
स्वास्थ्य बिमा कार्यक्रममा सबैको पहुँच होस भन्नकालागि प्रदेश सरकारले प्रदेशमा गरीबको रेखा मुनिरहेका अति विपन्न परिवारको समेत आफूहरुले निशुल्क बिमा गरिदिने तयारी गरेको मुख्यमन्त्री गुरुङले बताउनुभयो ।
शुभारम्भ कार्यक्रममा भौतिक पूर्वाधार मन्त्री रामशरण बस्नेत ,निवर्तमान प्रतिनिधि सभा सदस्य तिलक महत, प्रदेश सभा सदस्य रोशन बहादुर गाहा, लक्ष्मी सुनार,ओमकला गौतम, बौदिकाली गाउँपालिका अध्यक्ष दुर्गा बहादुर राना, प्रमुख जिल्ला अधिकारी मनमाया पंगेनी, नेकपाका प्रतिनीधि, नेपाली कागें्रसका प्रतिनिधि लगाएतले स्वास्थ्य बिमा कार्यक्रमको सफलताको शुभकाना दिदै छनौट भएका दर्ता सहयोगिलाई जिल्लाका सबै नागरिक बिमा कार्यक्रममा समेटीने गरी कार्य गर्न शुभकामना दिएका थिए ।

रेडियो कावासाेतीका लागि पत्रकार दयाराम आचार्यले यो समाचार लेखेका छन । 

तपाईको प्रतिक्रिया