×

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले वैशाखमा चुनाव संभव नरहेको बताएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले चुनाव नगराउने दाबी पनि उनको छ। सरकारले वैशाख १७ र २७ मा चुनाव घोषणा गरेको छ।

महामन्त्री कोइरालाले प्रतिनिधि सभा पुनर्स्थापनाकै लागि पार्टीले संघर्ष जारी राख्नुपर्ने पनि बताएका छन्।त्रिभुवन विश्वविद्यालयमा नेविसंघले गरेको रिले अनशनलाई ऐक्यबद्धता जनाउन आइतबार पुगेका कोइरालाले भने, ‘प्रतिनिधि सभा पुनर्स्थापनाका लागि संघर्ष गर्नुपर्छ। यो विषय अदालतमा पनि विचाराधीन छ।’प्रधानमन्त्री ओलीले पुस ५ मा प्रतिनिधि सभा विघटन गरेका थिए।उक्त कदम असंवैधानिक र अलोकतान्त्रिक भनेको कांग्रेसले तीन चरणमा आन्दोलन गरे पनि थप आन्दोलनका कार्यक्रम जारी गरेको छैन।

संघर्ष गर्दा कम्युनिष्टसँग मिल्न नहुने कोइरालाको भनाइ छ।‘अरूसँग मिलेर संघर्ष गर्न हुन्न। कांग्रेसको सहयोगले नेपालमा कम्युनिष्ट छन् अन्यत्र पलायन भइसके,’ उनले भने। उनले प्रतिनिधि सभा पुनर्स्थापनामा जोड दिनुपर्ने पनि बताएका छन्।

‘ओलीले चुनाव गराउँदैनन्। वैशाखमा चुनाव हुँदैन। कम्युनिष्ट पार्टी फुटेका छैनन्। जब फुट्छन् अनि चिन्हको विषय आउँछ। एउटालाई सूर्य चिन्ह दिँदा अर्कोले मुद्दा हाल्छ दुई चार महिना त्यसै जान्छ,’ उनले भने, ‘कि त सूर्यबाहेक अन्य चिन्ह दिनुपर्‍यो।’

उनले कांग्रेसले १४ औं महाधिवेशनलाई ध्यान दिनुपर्ने बताए। भदौ ७ देखि कांग्रेस महाधिवेशन छ।‘हामीले महाधिवेशनलाई ध्यान दिने हो। चुनाव पछि हुँदै गर्छ,’ उनले भने।स्ववियू निर्वाचनलगायत माग राखेर नेविसंघ १९ दिनदेखि रिले अनसनमा छन्। विद्यार्थीका जायज माग पूरा गर्न पनि कोइरालाले माग गरेका छन्।

तपाईको प्रतिक्रिया