Grishma Media Pvt. Ltd

Nawalpur, Gandaki, Nepal
Phone:+977.9855033222

Email: ujayalokhabar1@gmail.com

नवलपुर । तामाङ समुदायको पर्व सोनाम ल्होछार २८५७ शुक्रवार मनाइँदै छ । यसलाई उनीहरूले नयाँ वर्षका रूपमा मनाउने गर्छन् । सोनाम ल्होछारका अवसरमा सरकारले आज सार्वजनिक विदा दिएको छ ।

राष्ट्रिय सोनाम ल्होछार २८५७ बृहत् मूल समारोह समितिले राजधानीको टुँडिखेलमा एक औपचारिक कार्यक्रम गर्दैछ। विशेष गरी १२ जीवजन्तुलाई आधार मानेर ल्हो चक्रमा विश्वास गर्ने र जन्मदेखि मृत्यु हुँदासम्म पनि सोही चक्रका आधारमा विभिन्न संस्कार गर्ने परम्परा छ ।

तामाङ समुदायले हरेक माघ शुक्ल प्रतिपदाका दिन सोनाम ल्होछार मनाउने गर्दछन् । ल्होछारको अवसरमा शनिबार दिउँसो टुँडिखेलमा एक सांस्कृतिक कार्यक्रम हुँदै छ । कार्यक्रममा तामाङ वेशभूषा झल्कने वस्त्र तथा टोपी लगाएर यही समुदायका मानिस भेला हुँदै छन् । तामाङ भाषामा ल्होको अर्थ नयाँ र सारको अर्थ वर्ष भन्ने हुन्छ । ल्होछारका अवसरमा साथीभाइ तथा आफन्त भेला भएर मीठामीठा परिकार बनाएर खानुका साथै एकआपसमा नयाँ वर्षको शुभकामना आदानप्रदान गर्ने गर्छन् । सोनाम ल्होछारका अवसरमा साता दिनअघि नै विभिन्न कार्यक्रमहरू भइरहेका छन् ।

पर्वको अवरमा मीठामीठा खानेकुरा पकाएर खाने, साथीभाइ भेटघाट गर्ने र भोज खाने प्रचलन छ । पानी रोटीमा विभिन्न मरमसला राखी बनाइएको परिकार, गेडागुडीका परिकार, मासु तथा रक्सीलगायत खानेकुरा पनि खाइन्छ ।

‘ता’ भन्नाले घोंडा अनि ‘माङ’ भन्नाले लडाकूहरू भन्ने तामाङ समुदायबारे लेखिएका विभिन्न पुस्तकहरूबाट बुझिन्छ । यस अर्थमा घोडचढीमा निपुण साहसीहरूको समुदाय तामाङहरू वास्तवमै आफ्नो साहस, वीरता अनि रणकौशलका लागि नेपालमा मात्र नभई संसारभरि प्रचलित छन् ।

यसरी, नेपालको उच्च पहाडी भेग र पहाडी भेगमा बसोबास गर्ने तामाङ समुदायलगायत उत्तर छिमेकी मुलुक चीनसहितका बौद्धमार्गीहरूको घनत्व रहेको क्षेत्रमा पनि आजको दिनलाई खुसीयालीका साथै नयाँ वर्षका रूपमा मनाउने गरिन्छ ।

ल्होसार नेपालका हिमाली भेगका ठूलो जनसंख्याले मनाउने महत्वपूर्ण चाड हो । खासगरी शेर्पा, तामाङ, गुरुङ र भोटेले नयाँ वर्षको रूपमा मनाउने गर्छन् । ल्होसार मनाउने प्रचलन चीन तिब्बत तिरबाट नेपालमा भित्रिएको मानिन्छ । ल्होसार तीनथरिका रहेका छन् । तिनमा तोला ल्होसार, सोनाम ल्होसार र ग्याल्बो ल्होसार रहेका छन् ।

तपाईको प्रतिक्रिया