
चितवन । चितवन राष्ट्रिय निकुञ्जमा दुर्लभ एकसिंगे गैंडा चोरीशिकार कार्यमा संलग्न रहेको अभियोगमा १४ जना पक्राउ परेका छन् । गत पुस ३ गते यता विभिन्न मिति र समयमा उनीहरु पक्राउ परेका हुन् ।
चितवन राष्ट्रिय निकुञ्जले आज बुधबार कसरामा पत्रकार सम्मेलनको आयोजना गरी अभियुक्तहरुलाई सार्वजनिक गरेको छ । चालु आर्थिक वर्षको साउनयता निकुञ्जमा चोरीशिकारीबाट मारिएका चार गैंडा फेला परेका थिए । विगत केही वर्षयता शुन्य चोरीशिकार भएपनि एकाएक तस्करले गैंडा मार्न थालेपछि निकुञ्ज सुरक्षामा फरक रणनीति अपनाएर तस्करीको खोज तलास गरिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले बताउनुभयो । उहाँका अनुसार निकुञ्ज प्रशासन, निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेनाको बटुक दल गण, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले उनीहरुलाई देशका विभिन्न ठाउँबाट पक्राउ गरेको हो ।
बरालका अनुसार नवलपरासीको कावासोती नगरपालिका वडा नं। ७ का ४८ वर्षिय पल्ला भनिने शिवनारायण महतोलाई घरबाटै पक्राउ गरिएको छ । भरतपुर महानगरपालिका वडा नं। २८ स्यालबासका ४९ वर्षिय रणबहादुर भनिने जीतबहादुर कुमाल र निजको श्रीमती ईन्द्रमाया कुमाललाई नवलपुरको चोरमाराबाट लुकिछिपी बसेको अवस्थामा पक्राउ गरिएको हो । बाँकेको सोनारीका ३५ वर्षिय हरिप्रसाद थारु र निजकी श्रीमती विष्णुमाया गुरुङलाई उनीहरु बसोबास गरेको नवलपुरको गैंडाकोट नगरपालिका वडा नं। १ ईट्टाभट्टाबाट पक्राउ गरिएको उहाँले जानकारी दिनुभयो ।
गैंडाकोट वडा नं.१ का ३२ वर्षिय काले र अशोक गुरुङ भन्ने सुकबहादुर गुरुङलाई गोरखाको आरुघाटबाट पक्राउ गरिएको हो । पक्राउ परेकाहरुको बयानको आधारमा अन्य सात जना संलग्न भएको बुझिएको र उनीहरुको खोजी कार्य भईरहेको सो अवसरमा जानकारी दिईयो ।
यसैगरी अनुसन्धानको क्रममा गैंडा चोरीशिकार गरी खाग बिक्रीमा संलग्न भएका विगतका अन्य घटनाहरु समेत खुल्न आएका छन् । विगतका घटनामा संलग्न भएको अभियोगमा चितवनको कालिका नगरपालिका वडा नं। ९ शक्तिखोर बस्ने तारा चेपाङ भन्ने वीरमान सिंह प्रजा, गोरखा नगरपालिका वडा नं. ७ नयाँ बजारका कैलासबाबु आलेलाई गोरखाबजारबाट पक्राउ गरिएको छ । सोही गिरोहका लम्जुङ वेशिशहर नगरपालिका वडा नं. १० बस्ने ३२ वर्षिय सोमबहादुर गुरुङलाई काठमाण्डौंबाट पक्राउ गरिएको हो । माडी नगरपालिका वडा नं। ९ अयोध्यापुरी बस्ने वर्ष ३२ को दुर्गा भुजेल भन्ने दुर्गाबहादुर सार्कीलाई महोत्तरी बर्दिबासबाट पक्राउ गरिएको हो ।
मकवानपुर जिल्ला बागमती गाउँपालिका वडा नं। ३ घर भई काठमाण्डौं गोकणेश्वर बस्ने ३५ वर्षिय नविन पौडेल भन्ने मेखबहादुर नेपाली, मुगु जिल्लाको मुगु घर भई काठमाण्डौंको बौद्ध बस्ने ६१ वर्षिय नाङ्गे तामाङ लामा, काठमाण्डौंको बौद्धका २१ वर्षिय योञ्जन भनिने छिरिङ लामाको नामले चिनिने योन्देन ग्याम्जो तामाङलाई समेत पक्राउ गरिएको पत्रकार सम्मेलनमा जानकारी दिईएको छ । तनहुँको आबु खैरहनी नगरपालिका वडा नं. ५ घुमाउने बस्ने ३३ वर्षिय हरिबहादुर मगरलाई समेत पक्राउ गरिएको छ । अनुसन्धानका क्रममा पक्राउ परेकाहरुको बयानबाट दोषी देखिएका १८ जना फरार देखिएको उनीहरुको खोजी भईरहेको बरालले जानकारी दिनुभयो ।
पक्राउ परेकाहरुको साथबाट दुई थान भरुवा बन्दुक, बा १४ च २३५० नम्बरको गाडी, प्रदेश ३–०३००१ प ६४५३ नम्बरको मोटरसाईकल, पत्रिका काटेर पैसा जस्तो बनाएको २३ बन्डल र ४१ लाख रुपैयाँ बराबरको बैंक भौचर ६ थान समेत बरामद गरिएको सो अवसरमा जानकारी दिईयो ।
पक्राउ परेकाहरु जीतबहादुर कुमाल पाँच पटक, सुकबहादुर गुरुङ दुई पटक, वीरमान सिंह प्रजा ३ पटक गैंडा मार्ने कार्यमा संलग्न रहेको र निजहरु लामो समयदेखि पटक पटक गैंडा मारी खागको चोरीनिकासी गर्ने कार्यमा संलग्न रहेको खुल्नआएको उहाँले न्यूजभित्तोलाई जानकारी दिनुभयो ।
पक्राउ परेकाहरुलाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ बमोजिम कारवाहीका लागि आजै जिल्ला अदालत नवलपुरमा पेश गरिने बरालले जानकारी दिनुभयो ।
पत्रकार सम्मेलनमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोका डिएसपी राजकुमार राईले विगतमा सुन, रक्तचन्दन र गाँजा तस्करीमा लागेकाहरु अहिले खाग तस्करीमा लागेको बताउनुभयो । उहाँले विदेशमा रहेकाहरुलाई समेत बोलाएर तस्करीमा लगाएको पाईएको जानकारी दिनुभयो ।