काठमाडौं । ग्रीन लाइफ हाइड्रोपावरको आईपीओमा दोस्रो दिनसम्ममा ८ लाख १६ हजार १५५ जनाले आवेदन दिएका छन्।
विक्री प्रबन्धक बिओके क्यापिटलका अनुसार साँझ ५ बजेसम्ममा कम्पनीको आईपीओमा ८ लाख १६ हजार १५५ जना आवेदकबाट १ करोड ४८ लाख ८५ हजार ३१० कित्ता शेयर खरीदको लागि आवेदन परेको छ।
ती आवेदकबाट सो परिमाणको १ अर्ब ४८ करोड ८५ लाख ३१ हजार रुपियाँ बराबरको शेयर खरीदको माग भएको हो ।
कम्पनीले प्रतिशेयर १०० अंकित मूल्यका १८ लाख कित्ता तथा स्थानिय बासिन्दाका लागि जारी शेयरमा विक्री नभएको १६ लाख ८६ हजार ४०० कित्ता गरी कुल ३४ लाख ९६ हजार ४०० कित्ता साधारण शेयर निष्कासन गर्न लागेको हो ।
निष्कासन गरिने कुल शेयरमध्ये १ लाख ७४ हजार ८२० कित्ता शेयर सामूहिक लगानी कोषका लागि बाँडफाँट गरिएको छ भने ६९ हजार ९२८ कित्ता शेयर कर्मचारीहरुका लागि बाँडफाँट गरिएको छ । सर्वसाधारण लगानीकर्ताहरुले बाँकी ३२ लाख ५१ हजार ६५२ कित्ताका लागि आवेदन दिन सक्नेछन् ।
सो शेयर खरीदका लागि माघ २७ गतेसम्ममा आवेदन दिनुपर्नेछ । सो अवधिसम्ममा पूर्ण आवेदन नपरेमा फागुन ७ गतेसम्म म्याद थप गरिनेछ । सो आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सक्नेछन् ।
आईपीओ निष्कासनका लागि गराएको रेटिङ्गमा कम्पनीलाई केयर रेटिङ्ग नेपालले केयर एनपी बी प्लस ९आईएस० रेटिङ्ग प्रदान गरेको छ। यसले वित्तीय दायित्व पूरा गर्न उच्च जोखिममा रहेको आधार जनाउँदछ ।
कम्पनीको आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि-आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । हाल कम्पनीको चुक्तापूँजी १ अर्ब ४४ करोड रुपियाँ रहेको छ ।



उज्यालो खबर




