चितवन । चितवन राष्ट्रिय निकुञ्जभित्र एउटा हात्ती र एउटा गैँडा मरेका छन् । निकुञ्जको लामिचौर पोष्टमा कार्यरत ४५ वर्षीय शङ्करप्रसाद नामको हात्तीको मृत्यु भएको निकुञ्जले जनाएको छ ।
यही माघ २१ गतेदेखि बिरामी भएको शङ्करप्रसादको मृत्यु भएको निकुञ्जका सूचना अधिकारी एवं सहायक संरक्षण अधिकृत लोकेन्द्र अधिकारीले जानकारी दिनुभयो । हिन्दू धर्मअनुसार हात्तीलाई भगवान् गणेशको प्रतीकका रूपमा मानिने भएकाले मृतक शङ्करप्रसादको धार्मिक परम्पराअनुसार पूजापाठ गरी अन्त्येष्टि गरिएको अधिकारीले बताउनुभयो । चालु आव २०७७र७८ मा शङ्करप्रसादसहित चितवन राष्ट्रिय निकुञ्जमा पाँचवटा घरपालुवा हात्तीको मृत्यु भएको अधिकारीले बताउनुभयो ।
यसैगरी निकुञ्जको मुख्य क्षेत्र मानिने माडीको बगाई सेक्टरअन्तर्गत घाँगर भन्ने स्थानमा सडेको अवस्थामा मृत गैँडा भेटिएको छ । अधिकारीका अनुसार माघ १३ गते अन्दाजी ४० वर्षको गैँडा सडेको अवस्थामा मृत भेटिएको हो । योसँगै चालु आव २०७७÷७८ मा चितवन राष्ट्रिय निकुञ्जमा २३ वटा गैँडाको मृत्यु भएको अधिकारीले बताउनुभयो । रासस