
काठमाडौं । नेकपा निकट अखिल नेपाल महिला संघ अनेमसंघ ले प्रचण्ड समूहकी नेतृ रामकुमारी झाँक्रीलाई पक्रेर कारबाही गर्न माग गरेको छ ।
बुधबार गृहमन्त्री रामबहादुर थापालाई ज्ञापन पत्र बुझाउँदै संघले सो माग गरेको हो । गोरखामा भएको कार्यक्रममा झाँक्रीले राष्ट्रपति विद्यादेवी भण्डारीको चरित्र हत्या गरेको भन्दै संघले प्रक्राउ गरी कारबाही गर्न माग गरेको हो ।
गलत नियतले आपत्तिजनक, अपमानजनक अमानवीय शब्दहरु प्रयोग गरेकाले झाँक्रीलाई प्रक्राउ गरी कानुन बमोजिम कारबाही गर्न माग गरिएको अनेमसंघ नेतृ सुजिता शाक्यले बताउनुभयो ।
उहाँका अनुसार गृहमन्त्री थापाले कानुन बाहिर गएर काम गर्ने जो सुकै भएपनि कानुनी कारबाहीको दायरामा ल्याउने प्रतिबद्धता जनाउनुभएको छ । राष्ट्रपति जस्तो सम्मानित संस्था र व्यक्तिमाथि अशोभनीय आरोप लगाउनेलाई कारबाही गरिने गृहमन्त्रीको भनाइ छ ।
राष्ट्रपतिको चरित्र हत्या गर्ने रामकुमारीको अहिले चौतर्फि आलोचना भइरहेको छ ।