काठमाण्डौ – सर्वोच्च अदालतका न्यायाधीश हरिकृष्ण कार्कीले मुद्दाका विषयलाई लिएर सडकमा हुने नारा जुलुसले त्रासको वातावरण सिर्जना गर्ने गरेको बताउनुभएको छ ।
न्यायपालिकामा हुन सक्ने विकृति, विसङ्गति र अनियमितता तथा बिचौलियाबाट हुन सक्ने क्रियाकलाप तथा रोकथामका लागि चाल्नुपर्ने उपायबारे सरोकारवालासँग सुझाव सङ्कलन गर्न सुर्खेत आइपुग्नुभएका न्यायाधीश कार्कीले मङ्गलवार सञ्चारकर्मीसँगको छलफलमा यस्तो धारणा व्यक्त गर्नुभएको हो । ‘पछिल्लो समय मुद्दाको विषयमा सडकमा नारा जुलुस हुने गरेको छ, यसले न्यायाधीशमा त्रासको वातावरण सिर्जना गर्छ’, उहाँले भन्नुभयो, ‘अदालतले सडक बाहिर नभइ प्राप्त मिसिल र कानुन हेरेर फैसला गर्नुपर्ने हुन्छ ।’
न्यायाधीश कार्कीले मुद्दा परिसकेपछि सडकमा नारा जुलुस गर्नुभन्दा अनुसन्धान प्रक्रियामा राज्यका निकायलाई सहयोग गर्न सरोकारवालालाई सुझाव दिनुभयो । ‘न्यायाधीशले मिसिलमा प्रमाण के छ रु त्यो हेरेर आदेश–फैसला दिनुपर्छ, पीडितको पक्षमा प्रमाण पर्याप्त छैन भने न्याय पाउने सम्भावना रहँदैन’, उहाँले भन्नुभयो । न्यायाधीश कार्कीले अदालतमा मुद्दा छिटो फैसला गर्न क्यालेण्डर लागू गरेको जानकारी दिनुभयो । कोभिड–१९ का कारण त्यो क्यालेण्डर प्रभावित भएको उहाँको भनाइ छ ।
कार्यक्रममा सञ्चारकर्मीले विपन्नलाई न्याय पाउन मुस्किल रहेको, न्यायालयमा कानुन व्यवसायी र कर्मचारीको माध्यमबाट बिचौलिया हाबी भएका भन्दै यस्ता विकृति सुधार ल्याउन नसके अदालतप्रति जनविश्वास घट्ने सुझाव दिए ।
सर्वोच्च अदालतले गएको साउन ३० गते वरिष्ठ न्यायाधीश हरिकृष्ण कार्कीको संयोजकत्वमा न्याय क्षेत्र सुधारसम्बन्धी प्रतिवेदन तयार गर्न समिति गठन गरेको थियो । समितिमा सर्वोच्चकै न्यायाधीश प्रकाशमानसिंह राउत, नेपाल बार एसोसिएशनका अध्यक्ष चण्डेश्वर श्रेष्ठ, सर्वोच्च अदालत बार एकाइका अध्यक्ष खगेन्द्रप्रसाद अधिकारीलगायत सदस्य हुनुहुन्छ ।