
चितवन । प्रधानमन्त्री केपी शर्मा ओलीले पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भगवान राम चितवन माडीको अयोध्यापुरीमा जन्मेको हो भनेर किन बाल्दैनन् भनेर प्रश्न गरेका छन् ।भरतपुरको केन्द्रीय बस टर्मिनलमा नेकपा चितवनले गरेको आमसभालाई आज सम्बोधन गर्दै ओलीले प्रचण्डलाई लक्षित गर्दै चितवनबाट चुनाव जितेको सांसदले नै राम माडीमा जन्मेको भनेर बोल्न नसकेको बताएका हुन् ।
प्रधानमन्त्री ओलीले भने, ‘उहाँहरु विकासको गति देखेर आत्तिनु भएको छ, हामी राम मन्दिर बनाएर छोडिन्छ ।’ उनले यही निर्वाचन क्षेत्रबाट चुनिएका सांसद किन बोल्न सक्दैनन् भनेर प्रतिप्रश्न पनि गरेका छन् । उनले भने, ‘मयुरको प्वाख लाउँदैमा मयुर हुँदैन । उहाँ किन बोल्न सक्नुहुँदैन । ’ उनले रामको मूर्ति निर्माण भइसकेको जनाउँदै सीताको मूर्ती बनिरहेको बताए । उनले भने, ‘अर्को रामनवमीमा भव्य ढंगले शिलान्यास गरिने छ । चितवनको अयोध्यापूरी अब विश्वका हिन्दूहरुको, विश्वका पुरातत्वविद्हरुको पर्यटकीय स्थल हुनेछ ।’ प्रधानमन्त्री ओलीले चितवनमा नदी, पुल र नदीहरुको तटबन्धको व्यवस्थापन गर्ने बताए । उनले भने, ‘ चितवन असाधारण सम्भावना बोकेको भूमि हो । वृहत् नयाँ स्वरुपमा विकासलाई अगाडि बढाउने छौ ।’
प्रधानमन्त्री ओलीले जनसभामा चितवनबाट तपाइँहरुले तीन जना सांसद छानेको भन्दै ती छानिएका सांसदहरु आजको सभामा खोई भनेर प्रतिप्रश्न गरे । उनले भने, ‘ चितवनका सांसदहरु त्यही भएर छटपटाएर हिड्नु भएको छ । उहाँको उद्देश्य राम्रो छैन । पार्टी ध्वस्त पार्ने , देश सखाप पार्ने मनसाय उहाँहरुको छ ।’ प्रधानमन्त्री ओलीले भने, ‘अली अली मतपत्र च्यातेर जितेको भए पनि आजको सभामा तपाइँको मेयर खोई भनेर प्रश्न गरे । पिकनिक खान जानु भयो होला ।’ उनले भने, ‘मैले यसमा केही भन्नु छैन । आफ्नो काम गर्दै जानुहुन्छ । हामी देश बनाउने अभियानमा जुटेका छौं । ’ प्रधानमन्त्ती ओलीले आफूले राजमार्ग चौडा बनाउने काम शिलान्यास गर्दा उनीहरु छटपटाइरहेको बताए । उनले भने, ‘सभाहल बन्दा बाटो बन्दा किन पिर परेको छ । चितवन जिल्ला विकासका काममा अगाडि बढिरहेको छ । नारायणीमा सिग्नेचर पुल बन्दै छ । आकर्षक नयाँ पुल बन्दै छ । नारायणी राप्तीमा तटबन्ध बन्दै छ ।’
प्रधानमन्त्री ओलीले माडीलाई ‘मडी’ बनाउँछु भनेको थिए । तर सोही क्षेत्रबाट निर्वाचित सांसद मडी बनाउँछु भनेको विरोध गर्दैमा ठिक भएको बताए । उनले भने, ‘पार्टी फुट्यो, पार्टी फुटेको छ कि छैन, पार्टी फुटेको होइन केही मानिस बाहिर गएका हुन् । ’ हामीले निचोरेको होइन उनीहरु आफै निचारिएको उनले बताए ।