×

चितवन। चितवनमा हुने सबै घरेलु हिंसाका घटनामा मिलापत्र हुने गरेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनको तथ्याङ्कानुसार चितवनमा सबै घरेलु हिंसामा मिलापत्र भएको हो ।

चालु आवको छ महिनामा जिल्लामा ४८ वटा घरेलु हिंसाका उजुरी परेकामा सबै मिलापत्र गरिएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाले कार्यालयमा खान लाउन नदिएकामा १७, कुटपिट गरेकोमा १८ र गाली बेइज्जती गरेकोमा १३ वटा उजुरी परेका छन् ।

घरेलु हिंसामा गएको आर्थिक वर्षमा तुलनात्मकरूपमा कमी आएको छ । गएको आव ०७६र७७ मा कुल ८४ वटा घरेलु हिंसाका उजुरी परेका थिए । तीनमा खान लाउन नदिएकोमा २५, कुटपिट गरेकोमा ३३ र गाली बेइज्जती गरेकोमा २६ वटा उजुरी परेका थिए । सबै उजुरीलाई मिलापत्रमा टुङ्ग्याइएको थियो ।

आव ०७५र७६ मा कुल ३३५ वटा उजुरी परेका थिए । खान लाउन नदिएकामा ८९, कुटपिट गरेकोमा १३० र गाली बेइज्जती गरेकोमा ११६ वटा उजुरी परेका थिए । ती सबै उजुरीलाई मिलापत्रमा टुङ्ग्याइएको थियो ।

०७४र७५ मा परेका कुल ३१५ वटा घरेलु हिंसाका मुद्दालाई पनि मिलापत्रमै टुङ्ग्याइएको थियो । खान लाउन नदिएकामा ८०, कुटपिट गरेकोमा १७८ र गाली बेइज्जती गरेकोमा ५७ वटा उजुरी परेका थिए ।

गएको तीन वर्ष र चालु आवको छ महिनाको तथ्याङ्कलाई हेर्दा कुटपिट गरेका उजुरी सबैभन्दा धेरै परेका छन् । सामाजिक र पारिवारिकरूपमा अन्तरविरोध नहोस् भनेर प्रहरीले घरेलु हिंसालाई सकभर मिलापत्रमा टुङ्ग्याउने गरेको छ ।

प्रवक्ता थापाका अनुसार घरेलु हिंसाका निवेदनलाई एक महिनासम्म दर्ता गरेर मात्र राखिन्छ । एक महिनासम्ममा परिवारमा उनीहरुको मेलमिलाप भइसकेको हुन्छ । यदि एक महिनासम्ममा पनि मेलमिलाप नभएमा मुद्दालाई अदालतमा लगिन्छ ।

अदालतमा पनि सकभर मिलाउने प्रयास गरिन्छ । आवेशमा आएर पीडितले उजुरी दिने गरेको भए पनि अधिकांश पीडितपछि मिल्न चाहने गरेका छन् ।

तपाईको प्रतिक्रिया