Grishma Media Pvt. Ltd

Nawalpur, Gandaki, Nepal
Phone:+977.9855033222

Email: ujayalokhabar1@gmail.com

चितवन ।  प्रधानमन्त्री केपी शर्मा ओली सहभागी हुने कार्यक्रम रोक्न माग गर्दै नेकपा चितवनको प्रचण्ड-नेपाल पक्षले निर्वाचन अयोगलाई पत्र पठाएको छ। निर्वाचनको मिति घोषणा भइसकेपछि पनि प्रधानमन्त्रीले विकासका योजनाहरू शिलान्यास गर्दै हिँड्नु कानुनविपरीत हुने भन्दै प्रचण्ड-नेपाल समूहले जिल्ला निर्वाचन कार्यालयमार्फत आयोगमा पत्र पठाएको हो।

प्रधानमन्त्री ओलीले माघ १७ गते चितवनमा सिटी हल र पूर्व-पश्चिम राजमार्गको नारायणगढ-गोद्राङ सडकखण्डलाई ६ लेनको बनाउने योजनाको शिलान्यास गर्ने कार्यक्रम तय भएको छ।‘निर्वाचन घोषणा भइसकेपछि सरकारकोतर्फबाट विकासका योजनाहरू शिलान्यास, उद्घाटन गर्दा निर्वाचन आचारसंहीता आकर्षित हुने हुँदा यस्ता कार्यक्रमहरू जिल्लामा हुन नदिन निर्वाचन कार्यालयको ध्यानाकर्षण गराइएको व्योहोरा अवगत गराइएको छ,’ जिल्ला अध्यक्ष यमबहादुर परियार र सचिव कृष्णभक्त पोखरेलले हस्ताक्षर गरेर बुझाएको पत्रमा उल्लेख छ।

पत्रमा उनीहरूले सरकारले वैशाख १७ र २७ गतेका लागि निर्वाचनको घोषणा गरिसकेको स्मरण गराएका छन्।जिल्ला निर्वाचन अधिकारी जनार्दन अघिकारीले ध्यानाकर्षण गराइएको पत्र प्राप्त भएको बताए। उनले पत्रबारे जिल्ला प्रशासन कार्यालय र निर्वाचन आयोगमा जानकारी गराइएको बताए।‘मैले पत्रलाई स्क्यान गरेर निर्वाचन आयोगमा पठाएको छु, जिल्ला प्रशासनलाई पनि जानकारी गराएको छु,’ उनले भने, ‘तर उताबाट लिखितरूपमा कुनै जानकारी प्राप्त भएको छैन।’

आयोगको कानून शाखामा सम्पर्क गर्दा निर्वाचन आचारसंहीता लागू नभएको मौखिक जानकारी प्राप्त भएको उनले बताए।‘हामीले माथिबाट आउने आदेशलाई पर्खने हो। गर्नुपर्ने काम हामीले गरेका छौं,’ उनले भने। निर्वाचन कार्यालयका सूचना अधिकारी लक्ष्मी ढकालले उक्त पत्र माघ ११ गते दर्ता भएको जानकारी दिइन्।

ओली पक्षकी नेतृ पार्वती रावलले संघीय सरकारको योजना भएका कारण प्रधानमन्त्रीले शिलान्यास गर्नू स्वभाविक भएको बताउँदै माघ १७ गते शिलान्यासका साथै भरतपुरमा वृहत् आमसभाको तयारी गरिएको जानकारी दिइन्। प्रचण्ड–नेपाल पक्षमा रहेका जिल्ला अध्यक्ष परियार र सचिव पोखरेलले भने निर्वाचन आयोगलाई दिएको पत्रका विषयमा प्रतिक्रिया दिन मानेनन्।

तपाईको प्रतिक्रिया