रुकुम पश्चिम । पटक पटक विवादमा आईरहने रुकुम पश्चिमको आठबिसकोट क्षेत्रमा मंगलबार नेकपा प्रचण्ड माधव समुह र नेपाली कांग्रेसका कार्यकर्ता बिचको झडपले राडिबजार तनाव ग्रस्त बनेको छ । प्रहरी कार्यालयमै हतियार सहितका नेकपाका कार्यकर्ताले कांग्रेसका कार्यकर्तामाथि आक्रमण गरेपछि कांग्रेस समर्थित कार्यकर्ताले ईलाका प्रहरी कार्यालय आठबिसकोटमा ढुंगा प्रहार गरे र नाराबाजि गरेका छन् ।
दुबै पक्षका कार्यकर्ताहरुबिच पटक पटक भईरहने विवाद मिलाउन प्रहरी कार्यालयमा बसेका कांग्रेसबाट उम्मेद्वार बनेका वडा नम्बर ९ का वडाध्यक्ष तारक बहादुर शाहीमाथि तत्कालिन माओवादीबाट उम्मेद्वार बनेका वडा नम्वर ३ का वडाध्यक्ष केशरमान बि।क। र वडा नम्बर ८ का वडाध्यक्ष मानबहादुर चनारा लगायतले आक्रमण गरेर घाईते बनाए । त्यसपछि प्रहरी कार्यालय भित्रै झपडको अवस्था आएको थियो ।
आक्रमणमा परेर घाईते एक जना वडाध्यक्षसहित तीन जनालाई थप उपचारको लागि बुधबार कोहलपुर रिफर गरिएको छ । नगरपालिकाको वडा नम्वर ९ का वडाध्यक्ष तथा नेपाली कांग्रेसका कार्यकर्ता तारक बहादुर शाही, नेपाल विद्यार्थी संघका जिल्ला उपाध्यक्ष तेजबिक्रम आरसी र कांग्रेसका सक्रिय कार्यकता दिपक के.सी.लाई थप उपचारका लागि रिफर गरिएको छ ।
घाईते शाहीको अनुहारमा, आरसीको टाउकोमा र केसीको ढाडमा गम्भिर चोट लागेको छ । उनीहरु माथि प्रहरीकै सामुन्ने ढुंगा र चक्कु प्रहार गरिएको थियो । मंगलबार राती जिल्ला अस्पताल सल्ले पुर्याईएका उनीहरुको अवस्था गम्भिर भएपछि रिफर गरिएको र कोहलपुर शिक्षण अस्पताल लिईएको नेपाली कांग्रेस आठबिसकोट नगरपालिकाका नगर सभापति कमल शाहले जनाए ।
घटनामा संलग्न दुई जना वडाध्यक्षसहित ५ जनालाई प्रहरीले पक्राउ गरेर मंगलबार राति नै जिल्ला ल्याएको छ । आठबिसकोट नगरपालिकाको वडा नम्बर ३ का वडाध्यक्ष केशरमान बि.क. वडा नम्बर ८ का वडाध्यक्ष मानबहादुर चनारा, नेकपाका कार्यकर्ताहरु बिरेन्द्र बि.क जयबहादुर बि.क. धिरेन्द्र बि.क.लाई पक्राउ गरी जिल्ला ल्याईएको प्रहरीले जनाएको छ । ईलाका प्रहरी कार्यालय आठबिसकोटको कार्यालयमै झपड तथा तोडफोड भएको र एकजना प्रहरी सहायक निरिक्षक र दुई जना प्रहरी जवान सामान्य घाईते भएको बताईएको छ ।