
देवघाट । सामुदायिक रेडियो देवघाटको १० औं वार्षिकोत्सवको अवसरमा आज रक्तदान कार्यक्रम गरेको छ । सामुदायिक रेडियो देवघाटको आयोजना तथा नेपाल रेडक्रस सोसाइटी उपशाखा देवघाट तनहुँको सह–आयोजनामा आज गरिएको रक्तदान कार्यक्रममा २८ जनाले रक्तदान गरेका छन् ।
रेडियो देवघाटका स्टेशन मेनेजर सुवास लामिछानेका अनुसार महिला, पुरुष, प्रौढ लगायतका उमेर समूहका नागरिकले रगतदान गरेका थिए। विभिन्न अस्पतालहरुमा ’फ्रेस ब्लड’को अभाव रहेको समस्यालाई मध्यनजर गर्दै रक्तदान कार्यक्रमको आयोजना गरिएको लामिछानेले बताउनुभयो ।
एक थोपा रगतको कारण पनि मृत्यु शैयामा पुगेको मानिसको जीनव बच्न सक्ने भन्दै रक्तदान जस्तो पवित्र कार्यमा सहभागी हुनेलाई रेडियोका महासचिव निरन्जन हाडाले धन्यवाद ज्ञापन गर्नुभयो । कार्यक्रमको आयोजना गरेको रेडियो देवघाट र नेपाल रेडक्रस सोसाइटी उपशाखा देवघाट तनहुँलाई नागरिकहरुले आभार प्रकट गरेका छन् ।