गैँडाकोट। राष्ट्रियसभा सदस्य दिलकुमारी रावल (पार्वती) ले मुलुकको समृद्धि र विकासको सपना बोकेर हिडेका प्रधानमन्त्री माथि पार्टि भित्रैबाट काम गर्न नदिइएको बताउनुभएको छ । समृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय अभियानलाई लिएर सरकार अघी बढिरहेको अवस्थामा संसदीय दलबाटै बाटो छेक्ने काम भएको रावलको दावी छ ।
राष्ट्रियसभाको आजको बैठकमा विशेष समय लिएर बोल्दै ओली पक्षिय नेतृ रावलले बहुमत प्राप्त दलको नेता तथा सरकारको प्रमुखलाई कुनैपनि हालतमा अगाडी बढ्न नदिने, विना आधार अभियोगपत्र तयार गर्ने जस्ता काम खेदजनक भएको बताउनुभयो ।
देशको शिर उचो बनाउने काम प्रधानमन्त्री ओलीले गरेको भन्दै उहाँले प्रधानमन्त्रीले गुमेको नेपाली भूमि फिर्ता ल्याउने तथा जनताका मुर्छित सपनाहरुलाई जिवित बनाउन विकास र समृद्धिको मार्गलाई अगाडी बढाएको प्रष्ट पार्नुभयो ।
संसद विघटनको विषय सर्वोच्च अदालतमा विचाराधीन रहेको भन्दै नेतृ रावलले सडकमा भैरहेको प्रर्दशनलाई लोकतान्त्रीक मान्न नसकिने बताउनुभयो । बहुमत प्राप्त दलको प्रधानमन्त्रीले ताजा जनादेशमा जाने निर्णय गरेको भन्दै उहाँले निर्वाचनको विकल्प नरहेको जिकिर गर्नुभयो । रावलले लोकतन्त्रमा शक्तिशाली जनता भएको भन्दै चुनावदेखि नभाग्न प्रचण्ड माधव समूहलाई आग्रह गर्नुभयो ।
तत्कालिन नेकपा माओवादी केन्द्रले भरतपुर महानगरपालिकामा मतपत्र च्यातेर चुनाव जितेको तर्फ संकेत गर्दै उहाँले मतपत्र च्याते र चपाउने ईतिहाँस अव दोहोरिन निदईने प्रष्टपार्नुभयो । सडकमा रुवावासी गर्नुभन्दा जनताको घरदैलोमा पुगेर मन जित्न नेतृ रावलको सुझाव छ ।