×

चितवन  । पवित्र तीर्थस्थल देवघाटमा रहेर सूचना तथा सञ्चारको क्षेत्रमा योगदान दिंदै आएको रेडियो देवघाट १०२।६ मेगाहर्जले आफ्नो १० औं वार्षिकोत्सव विविध कार्यक्रम गरी मनाउने भएको छ । आउँदो माघ १ गते दशौं वर्ष पूरा गरी ११ औं वर्षमा प्रवेश गर्न लागेको रेडियोले धार्मिक प्रवचनसहित सामाजिक कार्य गरी वार्षिकोत्सव मनाउन लागेको हो ।

रेडियोले आज भरतपुरमा पत्रकार सम्मेलनको आयोजना गरी वार्षिकोत्सवको बारेमा जानकारी दिएको छ । वार्षिक उत्सव अन्तर्गत पुस २७ गते देवघाट बसपार्क चितवनमा खुल्ला रक्तदान कार्यक्रम राखिएको छ । यस्तै पुस २८ गते रेडियो परिसरमा देवघाट क्षेत्रका संघसंस्थाबीच अन्तरक्रिया कार्यक्रम तथा सोही दिन अन्तर आमा समूहस्तरीय हाजिरी जवाफ प्रतियोगिता र माघ १ गते वृद्धाश्रमका वृद्धवृद्धालाई फलफूल वितरणसँगै उत्कृष्ट स्रोतालाई रेडियो वितरण कार्यक्रम राखिएको स्टेशन म्यानेजर सुवास लामिछानेले जानकारी दिनुभयो ।

पुस २८, २९ र माघ १ गते देवघाटधामका तीन पीठका पीठाधिशको उपस्थितिमा देवघाटको महिमा, धार्मिक महत्वका बारेमा प्रवचन तथा अन्तक्र्रिया कार्यक्रम समेत हुने सो अवसरमा जानकारी दिईयो ।

विसं २०६७ सालमा स्थापना भएको रेडियोले ईन्टरनेट मार्फत् विश्वभर र आफ्नो प्रसारण क्षेत्रका वासिन्दालाई देवघाटको महिमा र विश्व परिवेशबारे सूचना र मनोरञ्जन प्रदान गर्दै आईरहेको रेडियोका उपाध्यक्ष विजयराज शर्मा भुषालले जानकारी दिनुभयो । सोही अनुरुपको मूल मन्त्रलाई आत्मसात गर्दै अगाडि बढेको उहाँले बताउनुभयो । रेडियोमा नेपाली संस्कृतिको संरक्षण, सम्बद्र्धन तथा समाजमा शान्ति र सद्भाव फैलाउने कार्यक्रम प्रसारण हुँदै आएको भुषालको भनाई थियो ।

तनहँ, चितवन, नवलपरासी, मकवानपुर, धादिङ, लमजुङ र गोरखासम्म सुन्न सकिने उक्त रेडियोको संचालकमा स्थानीय ५० जना हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया