×

काठमान्डौं । नेकपा ओली समूहका केन्द्रीय नेता महेश बस्नेतले साइबर सेना बनाउन थालेका छन् । कम्युनिष्ट नेता–कार्यकर्ताबिरूद्ध भ्रम सिर्जना गर्ने कार्य बढेकाले त्यसलाई खण्डन गर्न साइबर सेना आवश्यक परेको बताउने बस्नेतसँगको संक्षिप्त कुराकानीः

 

के हो यो साइबर सेना भनेको ?

साम्राज्यवादी र पूँजीवादीहरु पहिले बन्दुक बोकेर आउँथे, जनतामा आतंक सिर्जना गर्थे । त्यतिखेर कम्युनिष्टहरुले लालसेना बनाउन परेको थियो । अलि पछि हामीले वाईसीएल, युथफोर्स बनायौं ।

अहिले साम्राज्यवादीहरुले मिडिया, सामाजिक सञ्जाल लगायत अनेक माध्यमबाट कम्युनिष्ट आन्दोलनमाथि हमला गरेको हुनाले त्यसलाई जोगाउन, जनतामा गएको भ्रम रोक्न साइबर सेना बनाउन लागेका हौं ।

सूचना प्रविधि उपयोग गरेर कम्युनिष्ट पार्टीका नेता, कार्यकर्तामाथि लगाइएको आरोप र सिर्जना गरिएको भ्रमको खण्डन गर्दै जनतामा सही विचार लैजाने उद्देश्यले संगठित गरिन लागेको फोर्सलाई मैले साइबर सेनाका रुपमा व्याख्या गरेको हुँ ।

साइबर सेनाको टिम नै बन्न थालेको हो ?

यो युवा संघकै विभागका रुपमा रहन्छ । पहिले प्रचार विभाग भनेजस्तो साइबर सेना विभाग बनाएर जाने हो ।

यो कसरी परिचालित हुन्छ ?

यसको परिचालन पार्टीले नेतृत्व गर्छ । युवा संघको अध्यक्ष र पार्टी ले खटाएको इन्चार्जले निर्देशन गर्छ ।

साइबर सेनाले सामाजिक सञ्जाल मात्रै हेर्छ कि सूचनाका अरु क्षेत्र पनि ?

सामाजिक सञ्जाललाई कन्ट्रोल गर्ने, साइबर क्राइमको मुद्दा हाल्ने, राज्यको साइबर ब्यूरोलाई सहयोग गर्ने, कसैको टाउको कसैको घाँटीमा जोड्ने जस्ता कार्य गर्नेलाई कारवाहीको दायरामा ल्याउन सहयोग गर्ने हो ।

त्यसमा कानुन र नियमनको प्रश्न पनि उठ्ला नि ?

साइबर सेना आवाजविहीनहरुको आवाज बन्ने, न्यायमा पहुँच नभएकालाई कानूनी निकायमार्फत् न्याय दिलाउन सहजीकरण गर्ने हो । कानुनलाई नै मद्दत गर्ने हो ।

नक्कली अकाउण्ट खोलेर थप भ्रम सिर्जना गर्न झनै मद्दत गर्दैन ?

त्यस्तो भए सम्बन्धित पक्षले राज्यलाई उजुरी गर्छ । राज्यको पहुँज पुगेन, ध्यान पुगेन भने साइबर सेनाका हाम्रा साथीहरुले सहजीकरण गर्छ ।

तपाईको प्रतिक्रिया